© २०२३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीले कोरोना परिक्षणको शुल्क उठाउन पत्र लेखेपछि विरोध शुरु भएको छ ।
प्रतिष्ठानले प्रति ब्यक्ति ५५०० को दरले स्थानिय पालिकाहरूसंग पैसा मागेको बुझिएको छ । लमही नगरपालिकामा पठाएको पत्रमा सरकारले बजेट नदिएको र पिसिआर मेसिन आफै खरिद गरेको भन्दै पैसा मागेको कामु रजिष्टार कैलास प्रसाद देवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
पत्रमा लमही नगरपालिकाका ४७१ जनको ५५०० को दरले हुन आउने रकम शोधभर्ना गर्न भनिएको छ । पैसा नपाएको भन्दै प्रतिष्ठानले स्वाव लिन नमानेपछि जिल्लाका स्थानिय तहहरूले संकलन गरेको स्वाव नेपालगञ्ज र काठमाण्डौ पठाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले फेसबुक स्टाटसमै त्यसको बिरोध गरेका छन् ।
उनले लेखेका छन्,
‘कोरोना परिक्षणमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नमुना फिर्ता गर्ने, परिक्षण नगर्ने कार्य मानवता बिरोधी छ ! सख्त कार्बाही होस !’
लमही नगरपालिकाले सरकारले पठाएको मेसिन र कीट भएकोले पैसा नतिर्ने बताएको छ । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले मुख्यमन्त्रीसंग कुरा गरेर उक्त पत्रको जवाफ दिने बताए ।