© २०२३
बुटवल, २० बैशाख । विद्यालय तहको अन्तिम खुड्किलोको रुपमा रहेको कक्षा १२ को परिक्षामा लुम्बिनी प्रदेशबाट ८१ हजार ३७६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
बैशाख २६ देखि जेठ ५ सम्म संचालन हुने कक्षा १२ को एसएलसी परिक्षामा देशभरका माध्यमिक विद्यालयबाट ४ लाख ६७ हजार ३८९ जना परीक्षार्थी सहभागी हुदैछन। बागमती प्रदेश पछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट एसएलसीमा सहभागी हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
यसपालिको एसएलसी परिक्षामा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै परिक्षार्थी रुपन्देही जिल्लाबाट २१ हजार ९१२ जना र रुकुम पुर्वबाट सबैभन्दा कम ७६४ जना रहेका छन्। यसैगरी एसएलसी दिनेहरु दांगमा १३ हजार २३७ , बाँकेमा १० हजार ५५५ , कपिलवस्तुमा ६६७४, बर्दियामा ६२३९ र पश्चिम नवलपरासीमा ५३५६ जना रहेका छन् । प्रदेशमा एसएलसी दिने मध्ये ७८।६१ प्रतिशत परीक्षार्थी तराईका ६ जिल्लाबाट रहेका छन् ।
एसएलसी परीक्षालाई व्यवस्थित बनाउनको लागि केन्द्र निर्धारण गर्ने र परीक्षाको लागि खटिने केन्द्राध्यक्ष तथा कर्मचारीलाई राष्ट्रिय परिक्षा बोर्डले अभिमुखीकरण कार्यक्रमहरु गरिरहेको छ ।
रुपन्देही जिल्लाका केन्द्राध्यक्षहरुको लागि आयोजित अभिमुखीकरणमा बोल्दै प्रदेश परिक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुको संख्या र भौगोलिक आधारमा परिक्षा केन्द्रहरु थप गरिएको र सबै केन्द्रहरुमा बाह्य सुपरिवेक्षक खटाउने व्यवस्था गरिएको बताए। उनले परिक्षा केन्द्रहरुमा परिक्षालाई व्यवस्थित बनाउने काममा केन्द्राध्यक्षहरुको मुख्य जिम्मारी हुने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारि भरतमणि पाण्डेले विद्यार्थीहरुलाई भयरहित र अनुशासित ढंगले परिक्षा दिलाउन सकेमा मात्र विद्यार्थीहरुको क्षमता र शिक्षाको गुणस्तर मापन हुने भएकोले परीक्षालाई तोकिएकै ढांचा, शैली, समय र मर्यादामा संचालन गर्नुपर्ने र यसको लागि प्रशासन तथा सुरक्षा निकायले सबै सहयोग गर्ने बताए ।
राष्ट्रिय परिक्षा बोर्डले २०७७ देखि प्रश्नपत्र ईमेल मार्फत पठाउने र विद्यालयले त्यसलाई फोटोकपी गरेर विद्यार्थीहरुलाई दिएर परिक्षा संचालन गर्दा धेरै विद्यार्थीहरु भएका केन्द्रमा समयमै परिक्षा संचालन गराउन समस्या हुने भएकोले परिक्षा केन्द्र रहेका विद्यालयहरुलाई सरकारले विद्युत उपलब्धताको सुनिस्चितता र प्रश्नपत्र छाप्ने भौतिक सुविधा तयार गर्न सहयोग गर्नुपर्ने भन्दै कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले बोर्डको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिय परिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले अभिमुखीकरण कार्यक्रमको संचालन र सहजीकरण गरेका थिए ।
कार्यक्रममा रुपन्देही जिल्लाका ६३ परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलले साबिकका लुम्बिनी अंचल अन्तर्गत पर्ने लुम्बिनी प्रदेशका ६ र गण्डकी प्रदेशको एक जिल्लाको परिक्षा व्यवस्थापन गर्दै आएको छ। यी जिल्लाहरुका १७१ परिक्षा केन्द्रहरुबाट ५१ हजार ४३४ परीक्षार्थीले परिक्षा दिदैछन ।