© २०२३
बुटवल, १९ बैसाख । कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयमा राहदानीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था लागु गरिएको छ ।
यसअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय जाने सेवाग्राहीबाट कार्यालय अगाडि बसेका बिचौलियाले अनलाइन फारम भरेवापत प्रतिव्यक्ति १५ सय देखि ५ हजार रुपैयांसम्म असुल्ने गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य सरुवा भएर आएपछि जिल्ला प्रशासन कार्यालयभित्रै राहदानीको विद्युतीय अनलाइन फारम भर्ने व्यवस्था मिलाएका हुन् ।
सेवाग्राहीहरु बिचौलियाबाट ठगिएको गुनासो आएपछि चैत अन्तिम हप्ताबाट जिल्ला प्रशासन कार्यालयभित्र सरकारलाई तिर्नुपर्ने राजश्वबाहेक अन्य शुल्क नलिई राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘अनलाइन फारम भरिदिए वापत एकजनाबाट ५ हजारसम्म असुलेको गुनासो आएपछि कार्यालयभित्रका जनशक्तिलाई प्रयोग गरेर निःशुल्क रुपमा फारम भरिदिने व्यवस्था गरिएको हो’–आचार्यले भने ।
कपिलवस्तुको बाणगंगाका सेवाग्राही रामप्रसाद पौडेलले तीन महिना अघि राहदानीको अनलाइन फारम भर्न जाँदा बिचौलियाले ३ हजार रुपैयां शुल्क लिएका तर अहिले साथीको फराम भर्न जांदा जिल्ला प्रशासन कार्यालयभित्र निःशुल्क काम भएको बताए ।
अहिलेसम्म १ हजार ५ सय बढीको निःशुल्क फारम भरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । ‘नयां सिडिओ आएपछि टाइमकार्डको आधारमा निःशुल्क फारम भरिदिने व्यवस्था भएको हो’–उनले भने–‘दैनिक ६० देखि ७० जनासम्मको फारम भर्ने काम भइरहेको छ,सेवाग्राहीले सुरुमा नाम टिपाएर टाइम कार्ड लिएमा ५ देखि १० दिनभित्र पालो पाउँछन्, यसअघि महिनौँ लाग्ने गरेको थियो ।’
प्रमुख जिल्ला अधिकारी आचार्यले कतिपय सार्वजनिक विदाका दिन पनि कार्यालय बन्द नगरी सार्वजनिक सेवा प्रवाह गर्न थालेको बताए । बैसाख १ गते नयां वर्ष र मजदुर दिवस (बैसाख १८ गते) पनि आफूले कार्यालय खोलेर सेवा दिएको आचार्यले बताए ।
शनिबार ५८ जनाको पासपोर्ट लाईभ ईनरोलमेन्ट, पासपोर्ट वितरण १६ जनाको,
१४ जनाको पासपोर्टको अनलाईन फाराम भर्ने कार्य, ३० जनाको राष्ट्रिय परिचयपत्र ईनरोलमेन्ट, ४ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण, ७ जनालाई नयाँ नागरिकता वितरण र ५ जनालाई नागरिकता प्रतिलिपी बनाइदिएको आचार्यले बताए । यसअघि नयाँ वर्ष २०८० सालको सार्वजनिक विदाको दिन कार्यालय खुला गरी ७४ जना सेवाग्राहीहरुलाई सेवा दिएको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकको कार्यालय पनि प्रशासन कार्यालयभित्रै संचालन गरी राहदानी लगायतका राजस्व दस्तुर बुझाउन सहज बनाउने तयारी भएको उनले बताए ।