© २०२३
अबिरल वर्षाका कारण पहिरो गएपछि गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्र्तगत रुरुक्षेत्र गाउँपालिका २ को साँघुरे, सत्यवती गाउँपालिका ४ को नादेबा खोला, ५ को बाँदरे भीर र ६ को डहरे खोला लगायतका स्थानमा पहिरो खसेपछि सोमबार अपरान्हदेखि सडक अवरुद्ध बनेको हो ।
सत्यवती गाउँपालिका ६ अन्र्तगत उर्लीखोला बजार नजिकै रहेको डहरे खोलामा आएको बाढीका कारण बाग्लुङ्गको बुर्तिबाङ्गतर्फ जाँदै गरेको वस खोलामा फसेको छ । खोलामा फसेको उक्त वसलाई डोजरको माध्यमवाट प्रहरी र स्थानीयको सहयोगमा निकाल्ने काम भैरहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
गत सातादेखि लगातार रुपमा परेको वर्षाका कारण उक्त सडक खण्डको वीचवीचमा पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने गरेका कारण दैनिक चार पटकसम्म डोजर मार्फत पहिरो हटाउने काम भैरहेको पालिका अध्यक्ष ढकालले बताएका छन् । गुल्मीको रिडीहुँदै बाग्लुङ्गको ढोरपाटन नगरपालिकासम्म पुग्ने उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने व्यस्त सडकमा पर्दछ ।
त्यसैगरि सोमबार बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक सुचारु बनेको छ । उक्त सडकखण्ड अन्र्तगत रुरुक्षेत्र गाउँपालिकाको खनियाँरुख नजिकै सडक माथिवाट खसेको पहिरो हटाएपछि अबरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए । बर्षाका कारण सडकमा पहिरो खसेसँगै सडक भत्कीएपछि जिल्लाका दुई दर्जन भन्दा बढी ग्रामिण सडकहरु पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।