© २०२३
बुटवल, ९चैत ।
लक्ष्मी राईसँग हातमा दुईवटा ‘लालपूर्जा’ छ । ती दुई लालपूर्जा नेपाल सरकारले नभई हात्तीसुँड बस्ती विकास समिति, बुटवल ११ ले वितरण गरेको लालपूर्जा हो । लालपूर्जामा लिखितका आधार लिँदा एक लालपूर्जा २०७३ पुस २१ गते र अर्को लालपूर्जा २०७४ जेठ ५ गते प्राप्त गरेको देखिन्छ । तर उक्त बस्ती विकास समितिले उनलाई लालपूर्जा अनुसार जग्गा भने दिएको छैन । उनी अहिले कागज अनुसार जग्गा पाउँ भन्दै गुहार माग्दै हिँडिरहेकी छिन् ।
जंगबहादुर परियारले पनि टिकाराम गौतम सुनारमार्फत रविन रानालाई तीनपटक गरेर २ लाख ५ हजार रकम बुझाए । तमसुक बनाए तर उनले अहिलेसम्म जग्गा पाएका छैनन् । जग्गा खोइ भन्दा सरकारी जग्गा देखाउने र अलमल गर्ने गरेको परियार बताउँछन् । उनले शुरुमा बैना २५ हजार त्यसपछि १ लाख र ८० हजार गरी कुल २ लाख ५ हजार रकम बुझाएको तर जग्गा नपाएको गुनासो गरे । उक्त रकमले १८ हात मोहडा र २६ हात पिछाडको जग्गा दिने कबोल गरेको परियारको दाबी छ ।
राई र परियार मात्रै होइन हात्ती सुड क्षेत्रमा हात्ती बस्ती विकास समिति र हात्तीसुँड टोल विकास संस्थाको आडमा सरकारी जग्गामा अबैध रकम असुल्ने गरिएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार उक्त क्षेत्रमा घरधुरी र जग्गा किनबेच गर्नेहरूबाट कहिले हात्ती बस्ती विकास समिति त कहिले हात्तीसुँड निर्माण विकास समितिको आडमा हात्तीसुँड टोल विकास संस्थाले रकम उठाउने गरेको छ ।
पैसा असुल्दै तमसुक बनाउँदै ‘लालपूर्जा’ दिँदै, उधारो सरकारी जग्गा बाँड्ने गरेको पीडित जंगबहादुर परियारले बताए । उक्त अबैध काममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी मात्रै होइन नेकपा विप्लव समूहको समेत मिलेमतो रहेको पीडितहरूको आरोप छ । अर्की पीडित राधा बस्नेतले २०७५ आषाढ २८ मा ५ लाख ५० हजार बुझाएर तमसुक बनाएको भएपनि अहिलेसम्म जग्गा हात नपरेको गुनासो गरिन । पैसा दिइयो तर जग्गा पाइएको छैन बस्नेतले भनिन्, जग्गा माग्दा नगरपालिकालाई दोष देखाएर जग्गा दिन नसकिएको भनेर टार्छन ।
विकास समितिबाट दुई वटा लालपूर्जा पाएकी पीडित लक्ष्मी राईले टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठलाई पैसा बुझाएको तर जग्गा खोइ भन्दा सबैलाई दिन छ एकैपट दिन्छौं भन्ने जवाफ दिने गरेको गुनासो गरिन । उनले नगरपालिकाले तारवार लगाएको हुँदा जग्गा दिन नसकिएको जवाफ पनि दिने गरेको सुनाइन । उनीसँग भएको एउटा लालपूर्जामा २.६ धुर जग्गा उल्लेख छ भने अर्को लालपूर्जामा १५ फुट मोहडा र ३० फुट पिछाड रहेको जग्गा देखिन्छ । अर्का पीडित बताउने सुनिल न्यौपानेले स्थानीय रूपमा टोल समितिबाट पार नलागेपछि बुटवल उपमहानगरपालिकामा निवेदन दिएको बताए । उपमहानगरपालिकामा अन्यायमा प¥यौं भनेर निवेदन पेश गरेका छौं न्यौपानेले भने, हामीले न्याय कहिले पाउने, कस्ले दिने ? उपमहानगरपालिकामा एक दर्जन व्यक्तिको नाम भएपनि त्यसरी ठगिनेहरू करिब ७० जना घर परिवार रहेको उनले बताए ।
यसरी ज्यादती हुँदा पनि स्थानीय प्रशासन चुप लागेर बस्ने गरेको र उक्त मौनतामा सबै पक्षको मिलेमतो भएको उनको दाबी छ । उनका अनुसार त्यस क्षेत्रमा त्यसरी जग्गा लिनेमा प्रहरी, पत्रकार, जनप्रतिनिधि, राजनैतिक दलका नेता लगायत रहेका छन । जहाँ पुग्नेहरू समस्या सुन्ने र देख्ने गरेपछि कुरा के हो भन्ने बुझ्ने र फाइदा लिएपछि मौन बस्ने गरेका छन् ।
हात्तीसुँड टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठले उक्त घटनाबारे आफू अन्जान भएको र आफ्नो पालामा नभएको बताए । पटक पटकको जिज्ञासापछि भने उनले जग्गा दिने र लिनेबीच समस्या देखिएको स्वीकार गरे । मलाई थाहा छैन भन्ने गरेका श्रेष्ठले टोल समितिले नभएर पैसा उठाउने काम निर्माण समितिले गरेको र उक्त पैसा स्वेच्छिक भएको दाबी गरे । तर उक्त निर्माण समिति टोल विकास संस्था अन्तर्गत नै रहेको स्वीकर गरे ।
बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरको प्रशासनले त्यस विषयमा छानबिन गरिरहेको र त्यसका आधारमा काम अगाडि बढ्ने बताए । हाम्रो प्रशासनले अध्ययनको काम गरिरहेको छ, पाण्डेयले भने, हामी त्यसको रिर्पोट अनुसार अगाडी बढ्छौं ।
उनले जग्गा किनबेच गर्ने बीचको समस्याको बिषयमा टोल संस्थाको अध्यक्षको नाताले जो जसले पैसा लियो त्यसैबाट उक्त रकम असुल हुनुपर्ने बताए । त्यसको लागि जग्गा किन्ने र बेच्ने व्यक्तिको पहिचान गर्नमा आफूले सहयोगीको भूमिका खेल्ने प्रतिबद्दता जनाए । उनले समितिको अध्यक्ष राजेश थापा हुँदाको समयमा ती काम भएको तर्क गरे ।