© २०२३
बुटवल, १५ चैत । दुई वर्ष अघिसम्म बुटवल–१४ मोतिगन्जमा धान र तोरी खेतीपछि अधिकांश खेत बांँझै रहन्थे । त्यहांँ भैसी चराइन्थ्यो । तर अहिले मोतिगन्जका खेत कतै पनि बांँझो देखिन्न । कतै घोंगा लागेका बेच्न तयार मकै त कतै भर्खर उकेरा लगाएका मकै खेतीले सिंगो गाउं हरियाली र मकैमय बनेको छ । गत वर्ष १० बिघामा गरिएको मकै खेती अहिले ६ सय कठ्ठा अर्थात ३० बिघामा विस्तार गरिएको छ । मोतीगन्जवासीले थोरैमा ४ कठ्ठा देखि बढीमा साढे २ बिघा खेतमा मकै खेती गरेका छन् । अन्य बालीबाट भन्दा राम्रो आम्दानी हुने भएपछि अरुको जग्गा लिजमा लिएर पनि मकै खेती गर्नेहरु थपिन थालेका छन् ।
गत वर्ष मिलिजुली कृषक समूहमा आवद्ध १६ परिवारले शुरु गरेको मकै खेतीले राम्रो प्रतिफल दिएपछि बुटवल उपमहानगरपालिका कृषि विकास शाखाको ध्यान तानिएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकै पकेट विकास कार्यक्रममा मोतिगन्ज छनोट भएको छ । ‘पोहोर साल गाउंँका आफन्तहरु मिलेर १० बिघामा मकै खेती शुरु गरेका थियौं, त्यो राम्रो भएपछि उपमहानगर र वडाले मकै पकेट क्षेत्र बनाएको छ’–समूहका अध्यक्ष हरिप्रसाद खनालले भने–‘अहिले ३२ परिवारले मकै खेती गरेका छन्, जसमा ९ जना महिला र २३ जना पुरुष आवद्ध छन् ।’
मोतिगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको बताए । ‘सकेसम्म पालैपालो फल्ने समय मिलाएर बाह्रै महिना उत्पादन बेच्न मिल्ने गरी फरक फरक जातका मकै लगाउने योजना छ’–खनालले भने । उत्पादन बृद्धि भएसंगै विक्रि हुन समस्या आउन सक्ने भएकाले बजारीकरणमा उपमहानगरले ध्यान दिनुपर्ने अध्यक्ष खनालको माग छ । ‘अरु कुराको समस्या छैन, उत्पादन धेरै हुंदा विक्रि नहुने हो कि भन्ने छ’–खनालले भने । खनालका अनुसार ६ सय कठ्ठामा भएको मकै खेतीबाट वर्षेनी करिब ५० लाख रुपैयां बराबरको आम्दानी गर्न सकिन्छ ।
यो कार्यक्रमका लागि बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयां अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगरा कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए ।
‘मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको छ’–जीसीले भने–‘विक्रि नभएर बांकी रहेको मकै सुकेपछि आटो पिठो बनाएर उपभोग गर्न र बेच्न मिलोस् भनेर आटो पिठो बनाउने मेसिन किन्न पनि अनुदान दिएका छौं, यसले गर्दा उत्पादन खेर जाने सम्भावना कम हुन्छ ।’
मकै बिक्री गर्न उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई हाटबजारका २ वटा सटर दिने सोंचमा रहेको शाखा प्र्रमुख जीसीले बताए ।
१३ कठ्ठामा मकै खेती गरेका स्थानीय यादव पराजुली मकै खेती गर्दा वहुआयामिक फाइदा भएको बताउंँछन् ।
‘एकातिर बांँझो रहने खेतले उत्पादन र आम्दानी दिएको छ, अर्कोतर्फ मकै खेती हुंदा गाई भैंसीलाई घांस र दाना पनि हुन्छ, दुध उत्पादन पनि बढ्छ’– पराजुली भन्छन्–‘वर्षेनी अरबौं रुपैयांको मकै विदेशबाट किनेर ल्याउनुको सट्टा यसरी देशभरि मकै खेती गर्ने हो भने बाहिरबाट किनेर ल्याउनु पर्थेन, देशको पैसा बाहिर जान्थेन ।’
मकै खेतीले पशु पालन र गोबर मलको उत्पादन बढ्न गई रासायनिक मलको आयात विस्थापित गर्न सक्ने पराजुली औंल्याउँंछन् । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० चार ९ सय ४१ टन मकै आयात भएको थियो । मकैबाट बनेका कर्नफ्लेक्स, कर्नफ्लोर लगायत वस्तु के–कति आयात हुन्छन्, लेखाजोखा छैन ।
मध्यपहाडी भूभागको करिब ७३ प्रतिशत, तराईको १७ र उच्च पहाडको १० प्रतिशत भूभागमा मकै खेती हुन्छ । कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार मुलुकको ९ लाख ७९ हजार ७ सय ७६ हेक्टरमा गरिएको खेतीबाट २९ लाख ९७ हजार ७ सय ३३ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
‘सबै खेतीयोग्य जमिनमा मोतिगन्जमा जसरी नै खेती गर्ने हो भने वर्षेनी मकै आयातमा जाने अरबौं रकम जोगिएर ब्यापार घाटा कम गर्न सकिन्छ भन्ने उदाहरण मोतिगन्जवासीले दिएका छन्’–पराजुलीले भने ।