© २०२३
बुटवल उपमहानगरपालिका सहित पाँच नम्बर प्रदेशका उपमहानगरपालिका क्षेत्रलाई शनिबारदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ ।
पाँच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक नर बहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन गरेका छन् । बुटवल वेशक्याक्प, राजमार्ग चौराहा, तिनाउ पुल र गोलपार्क गरि चार स्थानमा बोर्ड उद्घाटन गर्दै उनले ध्वनी प्रदुषण रोक्ने यो अभियान थालेको बताए ।
अभियानलाई बुटवल नगरपालिकासहित नेपालगंज, दाङ्गलाई एकैपटक हर्न निषेध घोषणा गरिएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानीय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिने बताए ।
उनले दैनिक रूपमा प्रचारप्रसारको कामलाई जोड दिने समेत बताए । एक महिना सचेतनाको कार्यक्रम गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही अघि बढाईने उनले बताए । बुटवलका क्रियाशिल सामाजिक संघसंस्थाहरू र सहयोगमा अभियान सफल हुनेमा आशा उनले गरे ।
बुटवल उमपहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली, लायन्स क्लब अफ बुटवल सिटीका प्रतिनिधीहरूले सम्बोधन गरेका थिए ।
पछिल्लो समय शहरी क्षेत्रमा सवारी साधनको चापसँगै ध्वनी प्रदुषण बढेको गुनासो आएपनि ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो । प्रहरीले शनिबारदेखि नै शहरका चोकचोकमा चालकहरूलाई हर्न नबजाउन आग्रह गर्ने तथा त्यसका फाईदाका बारेमा सचेतनामुलक पर्चापम्प्लेटिङ्ग बाँड्ने काम गरेको छ । बुटवलको बाटो हँुदै पूर्वपश्चिम मार्ग हुँदै दैनिक एक लाख सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरी बताउछन ।