© २०२३
चन्द्रौटा फागुन ।
कोरोना भाइरस महामारी को बेला लकडाउन भयो । आम मानिस रोजगारी गुमाइरहेका थिए । अधिकांश युवा वैदेशिक रोजगारीका लागि भौतारिए । उद्योगधन्दा, कम्पनी बन्द हुने अवस्था आइसकेपछि विदेशमा भएका श्रमिक स्वदेश फर्किन बाध्य भए । त्यस महामारीको चपेटामा परेर केही युवा ज्यान समेत गुमाउन पुगे ।
त्यही बखत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, बसन्तपुरका बाबुराम चौधरी खाली समयको सदुपयोग गर्दै युटुव हेरेर बस्ने गर्थे । युटुवको सहायताले ड्राइगन खेती गर्ने उनी सोंच बनाए । त्यसबारे प्रयाप्त ज्ञान हाँसिल गर्दै अन्तिम तयारीमा चौधरी पुगे ।
त्यसरी समय लम्बिदैँ जाँदा केही महिनापछि लकडाउनको वातावरण अलि सहज भयो । चौधरीले बचत गरेर राखेको रकम करिब साढे ४ लाख लगानीमा भारतबाट ड्राइगनको बेर्ना मगाउने तयारीमा जुटे । साढे ३ कठ्ठा आफ्नै जग्गामा ड्राइगन खेतीको सुरुवात गरेको चौधरी बताउँछन् ।
उनले भने ः“सो खेती सुरु गरेको डेढ वर्ष भएको छ । फेरि लगभग डेढ लाख लगानी गरेको छु ।“ एक पटक यो खेती गरे पछि २० वर्ष सम्म हुने चौधरीले बताए । अरुले लगानी गरेपछि तत्कालै प्रतिफल खोज्ने गरेको बताउँदै धैर्य गर्नुपर्ने उनको भनाइ छ । ६ सय बेर्नाबाट खेतीको सुरुवात गरेका चौधरी अहिले आफै बेर्ना उत्पादन नर्सरी बनाएका छन् ।
लाखौं लगानी गरेर देशमै रोजगारीका अवसर सिर्जना गर्ने सोंच बनाएको उनले बताए । घरपरिवारसँग बसेर खेतीमा रमाउन पाउँदा हर्षित भएको बताउँदै फल उत्पादनको क्रम अब सुरु भएको जनाए । डेढ वर्षको अन्तरालमा आइपुग्दा बेर्ना मात्रै उत्पादन गर्न सकेको उनले बताए ।
चौधरीले थपे ः “आफूले खरिद गर्दा दुई सय रुपैयाँ प्रति बेर्ना लागत परेको थियो तर मैले एक सयमा बेच्दा समेत हुँदैन यहि बेर्ना बाहिरबाट कृषकले खरिद गर्दा तीन सय रुपैया पर्दा पनि खरिद गरेको पाइन्छ । त्यसैले मैले दाङ, रोल्पा, अर्घाखाँची प्युठान लगायत अन्यत्र थोकमा बेच्ने गरेको छु । सन्तुष्टिजनक आम्दानी भएको छ ।“
स्थानीय सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा खेतीमा कृषक सरकारी सेवा सुविधाबाट बन्चित हुने गरेको चौधरीले बताए । नाम मात्रको कृषकले कृषि क्षेत्र ओगटेको जिकिर गर्दै सिमितले अवसर पाएको गुनासो गरे । आफ्नै लगानीमा तारबार लगायत खेती संरक्षणका निम्ति स्थानीय युवालाई रोजगारीसमेत दिने गरेको उनले बताए । यसमा सरकारले किसान लक्षित तालिम, मल खाद, ऋण लगायत सेवा सुविधाको प्रभावकारी रुपमा लागु गर्न सके आम नागरिक आत्मनिर्भर हुनुका साथै सरकारलाई समेत आर्थिक टेवा पुग्ने चौधरीको भनाइ छ ।