© २०२३
प्यूठान नगरपालिका वडा नम्बर–५ जुम्रिकाँडाकी ददाकुमारी भुषालले सरायँमा तरबार नचाउन थालेको १५ वर्ष बढी भइसक्यो ।
तीन वर्षदेखि निरन्तर उनले सरायँ प्रतिस्पर्धामै भाग लिँदै आएकी छिन् । सयौँ पुरुषहरूको भीडमा उनी पनि प्रतिस्पर्धामा उत्रने गर्छिन् । उनीसँगै गाउँका १५ जना महिलाहरूले जुम्रिकाँडा महिला सरायँ समूह बनाएर तरबार नचाउन पुग्छन् ।
भाइटिकाको भोलीपल्ट लाग्ने विजुवार पूण्यखोलास्थित ऐतिहासिक डल्ले सरायँमा वर्षेनी जुम्रिकाँढाका महिलाहरू सहभागी हँुदै आएका छन् । अन्य गाउँबाट पुरुषहरूको समूह उपस्थित हुनेगर्छ । साहसिक जुम्रिकाँडाका महिलाहरू सिंगो समूह नै बनाएर पुरुषहरूसँग प्रतिस्पर्धा गर्दै आएका छन् । शनिबार भएको प्रतिस्पर्धामा उनीहरूको नाँचलाई धेरैले नौलो मानेका थिए ।
दशैँ, तिहारमा जिल्लाका धेरै ठाउँमा सराय नाँच भएपनि महिलाहरू कमै मात्रामा सहभागी हुने गरेको देखिन्छन् । ‘तीनवर्षदेखि निरन्तर डल्ले सरायँमा सहभागी हुने गरेकी छु’,ददाकुमारीले भनिन्,‘तर, अहिलेसम्म पुरस्कार जित्न सकेका छैनौँ ।’ आयोजकले उनीहरूलाई सहभागी प्रोत्साहन स्वरूप २० हजार रूपैयाँ नगद प्रदान गरेको थियो । यूवादेखि बृद्ध महिलाहरू सरायँमा सहभागी थिए । तिहार शुरु हुने केहीदिन अघिदेखि नै गाउँमा तरबार नचाउने अभ्यास गर्ने गरेको महिलाहरूले बताएका छन् ।
ऐतिहासिक डल्ले सरायँ मेलामा यसवर्ष पनि दर्शकहरूको सहभागीता उल्लेखनिय रहेको छ । केहीवर्ष अघिदेखि सरायँलाई प्रतियोगिताकै रूपमा संचालन गर्न थालिएपछि दर्शकहरू ओइरिने गरेका छन् । जिल्लाकै मध्यक्षेत्रमा मेला लाग्ने भएपछि यहाँ सवैको पायक पर्नेगर्छ । आयोजकका अनुसार हजारौँ दर्शकले डल्ले सरायँको अवलोकन गरे । यसवर्ष आठवटा समूहले सरायँमा सहभागीता जनाए । सात मिनेटसम्म प्रतियोगिहरूले सरायँको प्रस्तुती देखाए । वखै, वखै गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाच देखाउँदा उनीहरूलाई मोवाइलमा कैद नगर्ने दर्शकहरू कमै देखिन्थे ।
प्रथम हुने सरायँ समूहलाई एकलाख रूपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको थियो । यसपाली उक्त पुरस्कार राशी नगरपालिकाको वडा नम्बर ३ स्थित विजयनगरको सरायँ समूहले जितेको छ । प्रथम हुने समूहमा सबै यूवाहरू सहभागी थिए ।
७५ हजार राशीको द्वितीय पुरस्कार वडा नम्वर ७ पूण्यखोला र ५० हजार राशीको तृतीय पुरस्कार खलंगा थापडाँडा समूहले जितेको छ । सहभागी अन्य ६ वटा समूह सबैलाई सहभागी प्रोत्साहन बापत बीस÷बीस हजार रूपैयाँ नगद प्रदान गरिएको छ । सबै सरायँमा १५ जनाको समूह बनेर आएका थिए । सातवटा समूह पुरुषको थियो । जुम्रिकाँडाको एउटा मात्र समूह महिलाहरूले भाग लिएका हुन् । पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा र जुम्रिकाँडाका स्थानीयले समेत सरायँ प्रदर्शन गरे ।
नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेल लगायत पक्षलाई आधार मानेर विजयी समूह छनौट गरिएको मूल्यांकन समितिका संयोजक हुकुम बहादुर विष्ट बताउँछन् । उनका अनुसार डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ । करिब सात सय वर्ष अघिदेखि जाहबंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरबार उठाएको घटानासँग यो नाच सम्बन्धित छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरेको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको इतिहास पाइन्छ ।
प्यूठान नगरपालिकाले यसवर्ष डल्ले सरायँका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । नगरप्रमुख अर्जुनकुमार कक्षपतीका अनुसार सरायँलाई साँस्कृतिक पर्यटनको क्षेत्रमा महŒवपूर्ण रूपमा हेरिएको छ । नगरको पर्यटन गुरुयोजनामा ऐतिहासिक भित्रिकोट दरवारसँगै जोडेर सरायँलाई प्रवद्र्धन गरिने उनले जनाए ।
‘नगर क्षेत्रका विभिन्न क्षेत्रमा सरायँ नाच निकालिने गरिन्छ’, उनी भन्छन्,‘ऐतिहासिक क्षेत्रको संरक्षण गरेर स्थानीयको आय आर्जन बृद्धि गराउने खालका नीति, कार्यक्रम बनाउने छौँ ।’ नगरपालिकाको वडा नम्बर २ स्थित चितिखोलामा समेत सरायँनाच प्रदर्शन गरिएको छ । गतवर्ष गौमुखी गाउँपालिकाको स्याउलीवाङबाट समेत सरायँमा सहभागिता थियो । छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मी र दाङबाट समेत मेलामा सहभागी हुने गरेका छन् । पूर्णिमाको दिनसम्म जिल्लाका अन्यत्र क्षेत्रमा समेत सरायँ नाच निकालिने गरिन्छ ।
प्यूठान नगरपालिकाको खैरा, ऐरावती गाउँपालिका धुवाङ, झिमरुक गाउँपालिका मच्छि लगायत ठाउँमा सरायँ मेला लाग्ने गर्छ । मौलिक संस्कृतिको रूपमा रहेको सरायँलाई जोगाइराख्न सवै स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने देखिन्छ । धार्मिक पर्यटनको क्षेत्रमा सरायँले विशेष योगदान पु¥याउन सक्ने नागरीक समाजका अगुवाहरू बताउछन् ।