© २०२३
बुटवल, फागुन – बुधवार राती ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । उनी संगै घाईते भएका डा. भण्डारीको अहिले भारतमा उपचार भैरहेको छ ।
विहिबार मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको तुलसीपुरमा खाना पकाउने ग्याँस पड्किदा दुई जना गम्भीर घाइते भए । खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसी र चितवन भरतपुर महानगरपालिका ५ घर भई हाल सोही कृषि उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल घाईते भएका छन् । उनीहरुको उपचार भैरहेको छ ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । नेपालमा खाना पकाउने एलपीजी ग्याँस सिलिन्डर विष्पोट बाट प्रत्येक बर्ष नै मानिसले ज्यान गुमाउने गरेका छन् ।
सामान्य रुपमा ग्यास उत्पादक कम्पनी, ग्यास विक्रिता व्यापार र उपभोक्ताबाट हुने लापरवाहीको कारण अकालमानै मानिसले ज्यान गुमाउनु परेको छ । ग्यास उत्पादक कम्पनीले ग्याँस रिफिल गरेर बजारमा पठाउँदा ग्यास ‘लिक’ भएको छ या छैन भन्ने विषयमा पानीमा डुबाएर जाँच गरेपछि मात्रै बजार पठाउनुपर्ने ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप पन्थ बताउँछन् ।
ग्यासँ रिफिल गर्ने कम्पनीबाट ग्यास बजारमा आएपछि विक्रेता डिलर वा व्यवसायीहरुले पनि ग्यास लिक भए वा नभएको जाँच गर्ने गरी संयन्त्रको विकास गर्ने तयार रहेको उनको भनाई रहेको छ । खासगरी ग्याँस भरिएको सिलिन्डर लाई पानीमा डुबाउँदा कतै बाट पानीका फोकाहरु देखिएनन भने त्यो ग्यास प्रयोगको लागि सुरक्षित मानिने उनको भनाई रहेको छ । अध्यक्ष पन्थ भन्छन्–‘हामीले अव ग्यास पसल, डिलरहरुमा उपभोक्तालाई ग्यास विक्रि गर्दा अनिवार्य रुपमा पानीमा डुबाएर चेक जाँच गरेर मात्रै विक्रि गर्ने गरी प्रबन्धको विकास गर्दैछौं । ’
ग्यास उपभोक्ताले घरमा लगेर प्रयोग गर्दा ग्याँस सिलिन्डर देखि ग्यास चुलो सम्म आउने पाईप अहिलेको प्लाष्टिक पाईप भन्दा बलियो थ्रि लेयर भएको सुरक्षा पाईप प्रयोग गर्नुपर्ने अध्यक्ष पन्थको भनाई रहेको छ ।
ग्यास को लागि अहिले प्रयोग हुँदै आएको प्लाष्टिकको पिभीसी पाईप सुरक्षित नभएको भन्दै उनले यसको सट्टमा कोरियन टाईपको थ्रि लेयर भएको सुरक्षा पाईप प्रयोग गर्नुपर्ने बताए ।
सामान्य केही खर्चमा नै अहिले प्रयोग गर्दै आएको ग्यास रेगुलेटरको सट्टमा सेन्सर जडान गरिएको रेगुलेटर प्रयोग गर्दा ग्याँस पाईपबाट, चुलोबाट लिक हुँदा साथ बन्द हुने भएको कारण सबैले सेन्सर सहितको रेगुलेर प्रयोग गर्न जरुरी रहेको उनको भनाई छ ।
रेगुलेटरबाट ग्यास लिक भए नभएको थाहा पाउन एक मुठी पानी रेगुलेटरको वरिपरि खन्यायो भने पत्ता लाग्ने प्राविधिककोभ नाई छ । लिक छ भने बुलबुल फोका उठ्छ । गुणस्तरीय रेगुलेटर ३ सय देखि ४ सय सम्ममा पाउन सकिन्छ भने सेन्सरवाला १४ सय सम्म पर्छ ।ग्यास पाइपको कुरा गर्नुपर्दा तीन लेयरको पाइप प्रयोग गर्दा सुरक्षित हुन्छ । पीभीसी पाइप प्रयोग गर्न हुंददैन । यो मुसाले काट्नसक्ने, तातोका कारण जल्न र पग्लिन सक्ने हुन्छ । अहिले बजारमा ९० प्रतिशत पीभीसी पाइप प्रयोगमा रहेको भन्दै यसलाई रोक्नु पर्ने ग्यास विक्रेता संघको माग नै रहेको छ ।
तीन लेयरको पाइप एक मिटरको ३०० देखि ५०० रुपैयां मूल्यको हुन्छ । सिलिण्डर डिलरबाट ल्याउँदा वा लैजाँदा कुनै पनि अवस्थामा गुडाउन नहुने प्राविधिकको भनाई छ । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्नुपर्छ । भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्नुपर्छ ।
कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्न नहुने ग्यास विक्रेता संघ रुपन्देहीका महासचिव सूर्य खनाल बताउँछन् ।
उनी भन्छन्–‘सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुपर्छ । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुपर्छ ।’ ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्नु पर्ने भन्दै उनले खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्नुपर्छ। खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्ने बताउँछन् ।
ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ । ग्यासँको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउन नहुने उनको भनाई छ । आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्यासको चुहावट रोक्न सकिन्छ ।
ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।
सिलिन्डरको म्याद कती ?
जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन् । सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन ्। यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन् । ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २३ अंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २३’ लेखिएको सिलिण्डरको म्याद सन् २०२३को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउछन् । तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ ।
देशभरमा हाल १४ वटा ग्यास उद्योग रहेका छन् र जस मध्ये रुपन्देहीमा ५ वटा उद्योग छन् । नवलपरासी, रुपन्देहीमा ग्यास उद्योगको संख्या बढि रहेको छ । रुपन्देहीमा दैनिक १४ हजार भन्दा बिढ ग्याँस सिलिन्डर खपत भैरहेको छ भने मासिक रुपपमा ४ लाख भन्दा माथि खपत भैरहेको हुन्छ । ग्यास विक्रेता संघले हाल बजारमा देखिएका सानो आकारका सिलिन्डर ग्यास अवैध रहेको र यसले कुनै पनि थिग्नेस नै नहुने भएको काण यसलाई बन्द गर्न माग समेत गरेको बरिष्ठ उपाध्यक्ष कल्पना कुँवरले बताउँिछन् ।
उनले नेपाल सरकारले आयात प्रतिबन्ध गरेको यो सिलिन्डर बजारबाट नियन्त्रणमा लिएर कारवाही गर्न समेत माग गरिन् ।