© २०२३
रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि आयोजक माउण्ट स्टार एफसीले चुमेको छ । उपाधिसँग उसले नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र समेत हात पारेको छ । नहरपुर मावि खेलमैदानमा मंगलबार भएको निक्कै प्रतिस्प्र्रात्मक खेलमा भैरव एफसी नवलपरासीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको भैरवले नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक माउण्टका मार्टिन सर्वोत्कृष्ट खेलाडी, पिटर उत्कृष्ट डिफेन्स र सुनिल क्षेत्री उत्कृष्ट कोच तथा भैरवका अनुप गुरुङ्ग सर्वाधिक गोलकर्ता, भैरवकै अनुप राना उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भएका छन । यसैगरि प्रतियोगिता चर्च ब्बाईज युनाईटेड फेयर प्ले टिम घोषित भएको छ ।
सेमीफाईनल पुग्ने गोर्खा ब्बाईज क्लब बुटवल र चर्च ब्वाईज युनाईटेड काठमाण्डौले नगद २५–२५ हजार नगदबाट पुरस्कृत हुने छन । खेलको ७ औ मिनेटमा भैरवका कान्छा गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्स बाहिर माउण्टका दिनेश राजबंशीको हेण्डमा पाएको फ्रि किकलाई गोलमा परिणत गरेका थिए । तर खेलको १३ औ मिनेटमा मार्टिनले बराबरी गोल फर्काएका थिए । खेलमा फर्केको माउण्टका लागि बिमल घर्तीमगरले खेलको १६ मिनेटमा अर्को गोल गरे । खेलको ५४ औं मिनेटमा भैरवका अनुप गुरुङ्गले गोल गर्दै फेरी खेललाई बराबरीमा ल्याएपछि खेल रोमाञ्चक मोडमा आएको थियो । खेलको ६४ औं मिनेटमा मार्टिनलाई भैरवका आश गुरुङ्गले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई बिमल घर्ती मगरले जाली चुमाउँदै खेलमा जित दिलाएका थिए । प्रतियोगितामा उपाधिका लागि काठमाडांै, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रूपन्देही १६ वटा टिमले भाग लिएका छन् ।
एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, वडा नं. ११ का वडा सदस्य नहकुल शाही, क्लबका अध्यक्ष सुमन गुरुङ्गले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।