© २०२३
मल्लरानी गाउँपालिका–५ सरङकोट प्यूठानका स्थानीय चेत बहादुर पुनको नेतृत्वमा चारवर्ष अघि पाका पुस्ता (बुढो टोली) भैलो खेल्यो ।
गाउँमा मोटरबाटोको सुबिधा नहुँदा धेरै दुःख पाइरहेकाले बाटो खन्ने पैसा जुटाउन पुनको नेतृत्वमा भैलो खेलिएको थियो । संकलन भएको दश हजार रूपैयाँबाट उनीहरूले रिठेखर्कदेखि सरङकोट गाउँसम्म जोड्ने करिब पौने एक किलोमिटर बाटो निर्माण गरे । डोजर प्रयोग गरेर निर्माण गरिएको बाटोले उनीहरूको लक्ष्य पुरा हुन सकेन । गाविस हुँदै हाल गाउँपालिकाले अधुरो बाटो निर्माण पुरा गरिदिएको छ । ‘गाउँका बुढापाकाहरू मिलेर भैलो खेलेका थियौँ’, पुनले विगत सम्झदै भने, ‘त्यसपछि गाउँको विकास गर्ने खालको भैलो खेल्ने प्रचलन बिस्तारै हराउँदै जान थाल्यो ।’ त्यस वर्ष गाउँकै भूमेश्वरी आधारभूत विद्यालय र पँधेराखोला–रिठेखर्क–राम्चे खानेपानी आयोजनामा समेत केही रकम सहयोग गरेको पुनले बताए ।
सोही वडाकै बेलडाँडा मारुनीनाँच समूहले तीनवर्ष पहिले भैलो खेलेर जुटेको पैसा गाउँकै भुमेश्वरी आधारभूत विद्यालयलाई सहयोग गरेको थियो । मल्लरानी गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष राम बहादुर थापाका अनुसार तत्कालिन समयमा मारुनीनाँच समूहले विद्यालयलाई नगद दश हजार रूपैयाँ सहयोग गरेका थिए । विद्यालय संचालनमा उक्त रकमले केही राहत महशुस मिलेको विद्यालय परिवारले जनाएको छ ।
चार÷पाँच वर्ष अघिसम्म गाउँघरमा तिहारको बेला देउसी, भैलो खेलेर गाउँमा विभिन्न सामाजिक निर्माणका क्षेत्रमा काम गर्ने धेरैले योजना बनाउने गर्दथे । महिनादिन अघिदेखि नै योजनाबद्ध रूपमा भैलोको तयारी हुने गर्दथ्यो । तर, पछिल्ला केही वर्षदेखि यसतर्फ धेरैको आकर्षणमा कमी देखिएको छ । सामाजिक क्षेत्रमा काम गर्नेभन्दा पनि खानपिन र रमाइलोका लागि देउसी भैलो खेल्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । पुराना मौलिक संस्कृतिको झल्को दिनेगरी खेलिने भैलोहरू लोप हँुदै गएका छन् । हिजोआजका नयाँ पुस्ताहरू ‘रेडिमेट गित’ मै भैलो खेल्ने गर्छन् ।
स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ सारीका वडा अध्यक्ष हिरामणी भण्डारीले विगतमा भैलो खेलेरै गाउँमा पोखरी निर्माण गरेको सम्झे । वि.सं २०६० र ०६१ सालमा खेलेको भैलोको पैसाले गाउँमा सिंचाई गर्ने पोखरी निर्माण गरेको उनले बताए । ‘झण्डै तेह्र हजार रूपैयाँ पोखरी निर्माणमा खर्च गरेका थियौँ’,उनी भन्छन्,‘गाउँको बीचमा बनाएको पोखरीले अहिले सवैलाई सिंचाइ गर्न सजिलो भएको छ ।’
भैलो….
लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहुँदा गाउँलेले सिंचाइको समस्या झेल्दै आएका छन् । भण्डारीकै नेतृत्वमा गाउँका यूवाहरू जुटाएर भैलो खेलिएको थियो । खानपिनमा खर्च गर्नेहरूलाई भन्दा सामाजिक क्षेत्रमा लगानी गर्ने भैलो टोलीलाई सहयोग गर्न जागरण फैलाउने गरिएको उनले बताए । ‘भैलो खेलेर खानपीन गर्नु हुँदैन भन्ने पनि होइन’,उनी भन्छन्,‘सवै पैसा खाएरै सक्नुहुँदैन् । थोरै भएपनि लामो समयसम्म सम्झने खालका सामाजिक काम गर्नु राम्रो हुन्छ ।’ उनले अबका वर्षदेखि खेलिने देउसी, भैलोको समूहलाई सामाजिक क्षेत्रमा खर्च गर्ने खालको योजना बनाएर अघि बढ्न सल्लाह दिने योजना सुनाए ।
विगतमा गाउँमा देउसी, भैलो खलेर जुटेको पैसाबाट स्थानीयले विद्यालय, बाटो, खानेपानी, मठमन्दिर, सार्वजनिक शौचालय, बिरामी बोक्ने स्टेचर खरिद लगाएत क्षेत्रमा खर्च गर्ने गर्दथे । तर, हिजोआज फाट्टफुटट् बाहेक यस्ता गतिविधि कमै मात्रामा हुने गर्दछन् । तीनवर्ष पहिले झिमरुक गाउँपालिका–१ सौतामारेका यूवाहरू मिलेर खेलेको भैलोको पैसाले कृष्णजन्माष्ठमी मन्दिर निर्माण गरेका छन् । स्थानीय मधु जिसीका अनुसार करिव ५० हजार रूपैयाँ लगानी गरेर लाकुरीरुख भन्ने स्थानमा मन्दिर बनाइएको छ । ‘कृष्णजन्माष्टमीका दिन वर्षेनी यस मन्दिरमा मेला लाग्ने गर्दछ’, जिसीले भने, ‘यसले सिँगो गाउँको सोभा बढाएको छ ।’ यसवर्ष भैलो खेल्ने योजना भएपनि आफू दुःखमा भएकाले उत्साह नभएको सुनाए । भैलो खेलेर गाउँकै माध्यमिक विद्यालयलाई सहयोग गर्नेगरी थप योजना आउँदा दिनमा बनाउने उनको सोँच छ ।
सांगितिक क्षेत्रमा लागेका व्यक्तिहरूले पनि भैलोमा जुटेको पैसा कलाकारहरूको हितमा उपयोग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा प्यूठानले भैलो खेलेर जुटेको पैसाले ‘कलाकार कल्याणकारी कोष’ स्थापना गरेको छ ।
भैलोबाट संकलित ६५ हजार र विभिन्न मेला महोत्सवमा मूल्यांकन वापत कलाकारलाई दिइएको पारिश्रमिक ३५ हजार गरी एकलाख रूपैयाँको कोष स्थापना भएको छ । कोषबाट आएको व्याजको रकमले कलाकारहरूलाई भैपरी आउने जोखिममा सहयोग गर्ने जिल्ला शाखा अध्यक्ष तुकमानसिँह कार्कीले बताए । उनका अनुसार प्रतिष्ठानमा हाल तीनसय जना कलाकारहरू आवद्ध छन् । ‘यसवर्ष पनि भैलो खेलेर कोषमा रकम बढाउने सोँच छ’,उनले भने,‘कलाकारहरूले तयारी थालिसक्नु भएको छ ।’ उनका अनुसार गतवर्ष १ लाख ९२ हजार रकम संकलन भएको थियो । देउसी भैलो खेलेर विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्नेहरूलाई स्थानीय सरकारले पनि थप हौसला दिनेखालका नीति, कार्यक्रम ल्याउनुपर्ने नागरीक समाजका अगुवाहरूले सुझाव दिएका छन् ।