© २०२३
“तराई” धार्मिक, सांस्कृतिक, सामाजिक एवं आर्थिक विविधता भएको भुगोल । देशकै पहाड र हिमालमा तिहार मनाएजस्तै तराईमा भने दीपावलीलाई बढी महत्व दिने चलन छ । तिहार तराईमा पनि जाति, समुदाय र ठाउँपिच्छै फरकफरक ढंगले मनाइन्छ । झनै यहाँका बहुसंख्यक आदिवासी थारू एवम मधेशी समुदायले व्यग्र भएर प्रतीक्षा गर्ने पर्व मध्येको यो एक हो । स्वदेश एवं विदेशमा रहेका आफन्तजन यतिखेर मान्यजनबाट आशिष लिन एवं भाइटीका मनाउन घर फर्कने हुनाले यस जातिका लागि यो पर्वले निकै महत्व राख्छ ।
‘बडादशैं जस्तै यो पनि हाम्रो ठूलो चाड हो, जहाँ बसे पनि यतिखेर एक ठाउँमा भेला हुन्छौं,’ किसान ४५ वर्षे राज कुमार मिश्रले भने । रूपन्देही रोहिणी गाउपालिका ३ भटपुरवा स्थित उनको घरमा यतिखेर विशेष रमझम हुन्छ । खेतीपाती राम्रो होस, हानिकारक वन्यजन्तु घरबाट टाढै रहून् भन्ने कामनाका साथ दीपावलीका रात मनाउने गरिएको छ ।
लक्ष्मीको आगमन हुने विश्वासका साथ दीपावलीलाई रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूमा अमावस्य भनेर पनि मनाउँने गरिएको छ । यस अवसरमा विपत्तिको घडीमा रक्षक मानिने ग्राम देवताको थानमा दियो बाल्छन् । यसको धेरै दिनअगावैदेखि स्थानीय महिला घरवरिपरि सफासुग्घर, लिपपोत र घरका भित्तालाई रंगाउने तथा परम्परागत चित्र बनाउनमा व्यस्त हुन्छन् । तिहारको त्रिदिवसीय उत्सवलाई लक्षित गरी हप्ता दिनअघिदेखि नै त्यसको तयारी सुरु गरिन्छ । वर्षा ऋतुपछिको शरद मौसममा यो पर्व मनाइन्छ । वर्षाले माटा र खरका कच्ची घर, आँगन र गोठसमेत नराम्ररी भत्किएको र बिग्रिएको हुन्छ । त्यसैले तिहार तयारीको पहिलो चरण गाउँटोल, छरछिमेक र आफ्ना घरआँगनलाई लिपपोत र सफासुग्धर गर्ने क्रमबाट सुरु हुन्छ । त्यस क्रममा घरका भित्ता र आँगनका बारहरू मर्मत गर्नेदेखि धातु र फर्निचरका हरेक घरायसी सामानलाई धुनेपखाल्ने र टल्काउने गरिन्छ । तिहारको पहिलो दिन बिहानैदेखि गोबरमाटोले घरआँगनको लिपपोत गरिन्छ । महिलाले घरका भित्ता, दैलो र आँगनमा एक प्रकारको माटोले भित्तेचित्र र भुइँचित्र (रंगोली) कोर्ने गर्छन् । अर्को्तिर साँझको दीपावलीको तयारीस्वरूप माटोका दियोहरू बनाउने गरिन्छ । भान्सामा मिठामिठा परिकार तयार गरिन्छ । साँझपरेपछि घर, आँगनदेखि गोठ र बाटोघाटोसम्म दीपको प्रकाशले झकिझकाउ पारिन्छ । राति आकाशदीप बाल्ने चलन पनि छ ।
दोश्रो दिन घरका ज्येष्ठ महिलाले कुल देउतालाई चामलको पीठोले बनाइने नेवारी समुदायको योमरीसँग मिल्दोजुल्दो परिकार गोजिया, पानसुपारी र अक्षता चढाउँछन् । गोबर्धन पूजाकै दिन खेती कर्मका सहयोगी गोरु, हलो एवं फलीको समेत पूजा हुन्छ ।
बहुजाति एवं बहुभाषिक संरचना भएको तराईमा झिलिमिली पर्व दीपावलीको निकै सशक्त धार्मिक पक्ष छ । स्थानीय भाषामा दियाबात्ती भनेर बोलिने दीपावलीको तामझाम उत्कर्षमा पुगेको हुन्छ । समृद्धि देवी लक्ष्मीको आगमन हुने विश्वास गरिने हुनाले यसलाई सुखरात्रि पनि भनिन्छ । रातको अन्तिम पहरमा परिवारका प्रमुख महिलाले नांग्लो ठटाएर धनधान्यकी देवी लक्ष्मीलाई गृह प्रवेशका लागि बिन्ती गर्छिन् ।
दुई साताअगाडिदेखि पर्वको तयारीले यहाँ गति लिन्छ । घरआँगनको सरसफाइ, लिपपोत, परम्परागत रंगले भित्तेचित्र, भुइँ चित्र र आँगनमा थरी–थरीका रंगोली बनाइन्छ । मुख्य दिन स्वादिलो मिष्ठान्न तयार हुन्छ । ‘पाँचै दिन शाकाहारी विधिले पूजापाठ गर्छौं,’ मर्चवारकी गृहिणी ३६ वर्षीया उषा मुरावले भनिन, ‘उक्त अवधिमा दैनिक दियाबात्ती र मन्दिरमा पूजाआजा चलिराख्छ ।’ मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ ।
स्थानीयले भाइ दुज भनिने भाइटीकामा यहाँ पनि रौनक छाएको हुन्छ । दिदीबहिनीले माला र टीका लगाइदिएपछि दाजुभाइले सनेस वा उपहारको रूपमा नगद, कपडा तथा मिठाई दिन्छन् । मधेसमा रक्षाबन्धन वा राखीपछि दाजुभाइ र दिदीबहिनीको यति ठूलो जमघट भाइटीकामा मात्र हुन्छ ।
बहुजातीय, बहुभाषिक र बहुभाषिक भूमि मानिने रूपन्देही कपिलवस्तु तथा नवलपरासी लगायतका मधेसका जिल्लाहरू सांस्कृतिक दीपावलीका लागि परिचित छन् । मधेसको समृद्ध संस्कृतिको वैज्ञानिक आधार रहेको मधेश बुद्धिजिवी आनन्द गुप्ता बताउँछन् । ‘यहाँको भिन्न–भिन्न समुदायको संस्कृतिसँग जोडिएको दीपावली पनि यस्तै पर्व हो, यो मनाउनुपछाडि पनि कारण छ,’ उनले भने, ‘संक्रामक जीव नआऊन् भनेर अमावश्याको राति छतसहित घरको प्रत्येक भागमा दियो बालिन्छ ।’
भाईदुज (भाइटीका) को पनि मधेशमा फरक ढंगले स्वागत हुन्छ । चिटिक्क परेर घरका पुरुष सदस्य दिदीबहिनीको घरमा पुग्छन् । जेठी दिदीलाई आमा सरह दर्जा दिएर सम्मान गरिन्छ । सम्पूर्ण तयारीका साथ दिदीबहिनी पनि माइती पक्षका दाजुभाइलाई पर्खेर बसिरहेका हुन्छन् । ‘टीका लाइदिने एवं माला पहिराउने बेलामा दिदीबहिनीले पान, सुपारी, केराको दाना तथा मिठाईसहित एक विशेष मन्त्रको उच्चारण गर्दै दाजुभाइको बज्र जीवन वा दीर्घायुको कामना गर्छन्,’
झकिझकाउ पार्नलाई चाहिने केराको बोट, माटाको भाँडाकुँडा र दियाजस्ता सामग्रीको व्यापक एवं सहज उपलब्धताका दृष्टिकोणले मधेसमा तिहार बढी झिलिमिली हुने गरेको मधेशविदहरूको विश्लेषण छ । यी सबबाहेक अझैं पनि मधेसको केही भागमा गोबर्धन पूजाको भोलिपल्ट खुला चौरमा पशु जुधाइजस्ता खेल पनि हुन्छन् ।
बसाइ–सराइ एवं अन्तर्जातीय वैवाहिक सम्बन्धका कारणले स्थापित हुन गएको अन्तर सांस्कृतिक सम्बन्धले गर्दा मधेसमा पनि काग तिहार, कुकुर तिहार एवं देउसी–भैलो स्थानीय प्रभावका साथ मस्त भएर खेलिन्छ । अन्धकारविरुद्ध प्रकाशको, खराबविरुद्ध असलको, अज्ञानताविरुद्ध ज्ञानको र निराशाविरुद्ध आशाको यो पर्वमा किनमेलको क्रममा मधेसको बजारमा मुद्रा प्रवाह निकै बढेको हुन्छ । ‘लुगाफाटा, पूजन सामग्री, विद्युतीय सामग्री, मिठाई र पटाखामा निकै ठूलो खर्च हुन्छ,’ ।
नेपालका हिन्दुहरूलाई भौगोलिक र सांस्कृतिक दृष्टिले दुई भागमा वर्गीकृत गर्न सकिन्छ । धार्मिक हिसाबले उनीहरू एउटै भए पनि भाषिक विविधता, सांस्कृतिक मौलिकता, स्थानीय परिवेश र जीवनशैली तथा चाडपर्व मनाउने केही भिन्न तौरतरिकाका कारण उनीहरूलाई पहाडका र तराई मधेसका गरी फरक छुट्याउँदा फरक पर्दैन । यो फरकपन वा विविधता पहाड र मधेसका हिन्दुहरूले मनाउने लगभग हरेक चाडपर्वको अवसरमा हेर्न सकिन्छ ।
धर्म र कृषिको सामन्जस्यता
राधबेन्द्र कुमार श्रीवास्तव
सचिव, अबधी सास्कृतिक बिकास परिषद नेपाल
तराई मधेसको अबधी संस्कृतीमा दिपावली र भाईटिकालाई धार्मिक स्मृति र कृषि कर्म सँग जोडिएको छ ।
विशेष तहः तिहारका मुख्य तिन दिनलाई तराई मधेसमा महत्वका साथ मनाईने गरिन्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले वनबास पुरा गरि लंका विजय पश्चात् गृह नगरी अयोध्या आउँदा अयोध्यामा हर्सोउल्लासका साथ दिपावली गरि विजय उत्सव मनाएको दृष्टान्तलाई आत्मसात गरि दिपावली मनाउने गरिएको हो ।
तिहारका मुख्य तिन दिनलाई तराई मधेसमा महत्वका साथ मनाईने गरिएको छ । जसमा पहिलो दिन धनतेरस हो । कार्तिक कृष्ण त्रयोदशीका दिनलाई तराई मधेसमा धनतेरसका रूपमा मनाउने गरिएको छ । सो दिन सुन चाँदी, भाँडा कुडा र लत्ताकपडा खरिद गरे सम्पत्ती बढ्ने जनयुक्ति छ । धनतेरसका दिन कन्दमुलका रूपमा मानिने कान (औल) को तरकारी अचार लगायतका परिकार सँगै खिर, पुरी र मालपुवा खाने चलन छ । त्यसै गरि अर्को महत्व औंशीको दिनको छ । सीता र राम गृहनगरमा आएको अवसरमा गरिएको दिपावलीलाई स्मरण गरि घर घरमा दिपावली गरेर लक्ष्मीको पुजा गरिने गरिएको छ । रामचन्द्र साक्षात नारायणको अवतार र माता सिता भगवतीको अवतार भएकाले सो दिन दिपावली गरि लक्ष्मी पुजन गरे भगवती खुसी भै धन सम्पत्ति बढने मान्यता रहेको छ । सो दिन दिपावली गर्दा दैहिक, दैविक र भौतिक लाभ मिल्ने जनविश्वास छ । घर भित्र र घर बाहिरका विभिन्न मठ मन्दिरमा माटोको भाडामा तोरीको तेल हालेर गरिने दिपावलीले मानवलाई दुःख दिने किरा, फट्यांग्रा र लामखुट्टे नाश हुनुका साथै हिउँदे बालीका लागि रोगको प्रकोप नहुने जनविश्वास छ । दिपावलीका दिन माटोको ठुलो दियोमा रातभर बत्ती बालेर माटोको घण्टी बजाएर घण्टीले छोपेर भोली पल्ट निकाली गाजल बनाउने गरिन्छ ।
तिहारको अन्तिम दिनका रूपमा यम द्वितिया मनाउने गरिन्छ । सो दिन यमराजलाई उनकी बहिनीले टिका लगाई मिठाई र पकवान खुवाएका कारण यमराज खुसीभै द्वितियाका दिन दिदी बहिनीले टिका लगाई मिठाई लगायतको पकवान खुवाएर आर्शिवाद दिएका भाइहरू दिर्घायु हुने बचन दिएकाले भाई टिका मनाउन थालिएको जनश्रुती छ । भाई टिकाका दिन कृषिको प्रतिक हरियो, निरोगिताको प्रतिक पहेलो, उत्साहको प्रतिक रातो र शान्ति र समानताको प्रतिक सेतो रंगको प्रयोग गरि भाईटिका लगाईने गरिन्छ । भाई टिकाका दिन अवधी संस्कृती अनुसारका गोझिया, गुलगुला, मालपुवा, पकौडी, पुडि र खिर तथा मिठाईका परिवार खुवाउने गरिन्छ । à
à