© २०२३
बुटवल, २७ माघ ।
गाउँघरमा बूढापाका बताउँथे, ‘हात खाली नराख, जग्गा खाली नराख’ । हात खाली नराखको अर्थ हो— कुनै न कुनै काममा आपूmलाई सक्रिय बनाइराख । त्यस्तै जग्गा खाली नराख भनेको जग्गाबाट केही न केही उत्पादन र आम्दानी गर । अहिले नेपालीको प्रवृत्ति हात पनि खाली राख्ने र जग्गा पनि खाली राख्ने दिशातिर उन्मुख छ । अर्थशास्त्र विषयका प्राध्यापक वैकुन्ठ पाण्डे भन्छन्–“युवाहरुमा सीप र जग्गाहरु बाँझो नरहने हो भने जनशक्ति र भूमिको उचित सदुपयोग गर्न सकिन्छ ।”
बुटवल उपमहानगरपालिकाको आर्थिक समृद्धिका लागि युवाहरुलाई सीपमूलक काममा लगाई उनीहरुबाट लाभ लिन सक्नुपर्छ । दीर्घकालीन अवस्था कल्पना गरेर योजना बनाउन उनले बुटवल उपमहानगरलाई सुझाव दिन्छन् । विभिन्न जिल्लाका मानिस बटुलिएपछि चुरेको फेदमा ‘बटौली’ बजार बनेको इतिहास छ । पहाडका बासिन्दाले घीउ बेचेर नुन र मट्टीतेल किन्ने सानो बजार अहिले देशकै आर्थिक केन्द्र बनेको छ । पहाड–तराईको व्यापारिक केन्द्र, पूर्व–पश्चिमको मध्य र भारतीय सीमानजिकको सहरका रुपमा रहेको छ ।
पहिलेको सानो बटौली अहिले बिकसित भएर नमुना सहर बन्दै छ । सहर र आसपास विकास योजना तीव्र रुपमा अघि बढ्दैछन् । जाइलाग्न आएको अंग्रेज फौजलाई हराएको जीतगढी किल्ला, राजा भतृहरिले सिद्धि प्राप्त गरेको सिद्धबाबा, आदिमानव रामापिथेकशको बंगारा भेटिएको रामापिथेकश क्षेत्र लगायतको योजनाबद्ध विकासले सहरको उचाइ बढाएका छन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएका श्रेष्ठका अनुसार अहिले बुटवलमा मुख्यगरी ट्राफिक व्यवस्थापन र पार्किङलाई बढी जोड दिनुपर्छ । “यसका अतिरिक्त बुटवलमा ट्रेड सेन्टरहरुको निर्माण, जलासयहरुको निर्माण, तिनाउ कोरिडोरको कार्यान्वयन, प्रादेशिक अस्पताललाई स्तरोन्नती जस्ता कुरा अगाडि बढाउन सके बुटवलको मुहार फेरिन धेरै समय लाग्दैन”–उनी भन्छन् । बुटवल ऐतिहासिक, प्रचुर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रूपमा रहेकोले यसलाई अझ व्यवस्थित र आधुनिक बनाउनुको विकल्प नभएको उनी बताउँछन् ।
यहाँ बसोबास व्यवस्थित तुल्याएर आकर्षक र सुविधायुक्त सहर बनाउने, शिक्षा स्वास्थ्यमा सुधार, उद्योग, व्यवसाय बिस्तार गरेर रोजगारको केन्द्र बनाउने कुरालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । “अब बुटवललाई स्मार्ट सिटीका लागि पूर्वाधार विकास गर्नुको विकल्प छैन”–श्रेष्ठ भन्छन् । उनले भनेजस्तलै बुटवलमा पुर्वाधार विकासलाई पनि जोड दिइएको छ । ‘ग्रेटर लुम्बिनी’ क्षेत्रभित्र पूर्वाधार विकास गर्ने लक्ष्यअनुरुप चन्द्रसूर्य आकारमा सम्मेलन केन्द्र निर्माण गरिएको छ । बुटवल मण्डपको १० बिगाहामा उक्त सम्मेलन केन्द्र निर्माण भएको छ । त्यसमा १ हजार १ सय १४ जना अट्ने मुख्य हल छ ।
छेउँमै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण अन्तिम चरणमा छ । अर्का प्रदेशसभा सदस्य विष्णु पन्थी भन्छन्–“बुटवलको तीव्र जनसंख्या वृद्धिलाई ध्यानमा राखेर पार्किङको व्यवस्थापन अपरिहार्य भइसकेको छ ।” अव बुटवलको विकासमा घरहरुको संरचना पनि बदल्नुपर्ने उनको सुझाव छ । “अव पूराना मोडलका घरले हुँदैन, नयाँ घर निर्माणका लागि जग्गा छैन, अवका घर जमिन होइन, आकाशतफर्, बढ्नुपर्छ”–पन्थीको भनाइ छ । उनका अनुसार ग्रिनरी, सरसफाई र हरियाली पार्क, बहुमूल्य व्यापारिक भवन, प्रयाप्त खानेपानीको व्यवस्था, साधनस्रोत सम्पन्न प्रशासन, सुविधासम्पन्न होटल आधुनिक बुटवल निर्माणका लागि महत्वपूर्ण तत्व हुन सक्छन् । “बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रूपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्छ”, उनी भन्छन्–“यसैले आधुनिक शहरका लागि उपमहानगरले प्रष्ट खाका निर्माण गर्नुपर्छ ।”
यतिबेला कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको छ । तिनाउ–दानव कोरिडोर निर्माणको क्रममा छ । चुरे पहाडबाट सुरु भएको बुटवल समथर भूभागसम्म फैलिएको छ । पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग यसको मध्य भागबाट गएका छन् । सौर्यबत्तीले सडकसँगै दायाँबायाँ छुट्याइएको सर्भिस लेनसम्म उज्यालो पुग्छ । ०६८ देखि सौर्य ऊर्जाले झिलिमिली बनाउने काम सुरु भएको थियो । साँझ परेपछि बजार पूरै उज्यालो देखिन्छ । राजमार्ग र आवासीय क्षेत्रका सडकमा सौर्य ऊर्जा विस्तार भएको छ । बुटवलको क्षेत्रफल तिलात्तमा सम्म पनि पर्ने भएकाले तिलोत्तमाको वनवाटिकामा वनस्पति उद्यान र प्राणी उद्यान बनाउनुपर्ने प्रदेश मुन्ख्यमन्त्री लिला गिरीको भनाइ छ । उनका अनुसार हिलपार्क र मणिमुकुन्द सेनलाई परिस्कृत गरी विकास गर्न सके, जितगढी किल्लालाई आधुनिकीकरण गर्दै रामापिथेकश पार्क, जिओलोजिकल पार्क, नुवाकोटमा ओपन थिएटर, वसन्तपुर र नुवाकोटमा केवल कार निर्माण र सिद्धबाबा धामको विकास पूरा भएपछि आधुनिक बुटवलको सपना पूरा हुन्छ ।
बुटवलबाट सिधैं लुम्बिनी जोड्ने र पश्चिमबाट आउने पर्यटकलाई सिधै लुम्बिनी लैजाने र ल्याउने मार्गका रुपमा बेलवास–बेथरी पर्यटन मार्ग निर्माण गरिएको छ । बुटवलको बेलवासबाट बेथरी हुँदै लुम्बिनी जोड्ने सडक ४ लेनको सडक बनेको छ । यसका लागि २ अर्ब बजेट खर्च भएको छ ।
उपमहानगरपालिकाको रामनगरमा ०३२ सालमा स्थापित बुटवल औद्योगिक क्षेत्र छ । यसमा रहेको ४ सय ३४ रोपनी जग्गामा ७४ उद्योग सञ्चालित छन् । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र बनाउने सरकारी योजनाअनुसार मोतीपुरमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुँदैछ । त्यसमा ८ सय १४ विघा नदी उकास क्षेत्रको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुने छ । यसले पनि बुटवलको विकासमा इटा थप्ने काम गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुलले बुटवलको अहिलेको मुख्य बजार र पुरानो बजारलाई जोडेको छ । यी दुई बजारलाई जोड्ने अर्को पक्की पुल पनि निर्माण भएको छ । पुलले बुटवल उपमहानगरपालिकाको एक र ३ नम्बर वडालाई जोडेको छ । पुल बनेपछि बुटवलको पुरानो बजारमा चहलपहल बढेको स्थानीयको भनाई छ ।
बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौल स्थानीय तहका जनप्रतिनिधिले पुरानो बजार संरक्षणको योजना बनाउने आशा व्यक्त गर्छन् । “फेरि पनि जनप्रतिनिधि आएका छन्, आशा त गर्नै प¥यो । आशा गर्नेबित्तिकै भइहाल्छ भन्ने होइन, तर जनप्रतिनिधिलाई काम गर्नुपर्ने दबाब हुन्छ”–उनी भन्छन्–“यो ठाउँ बुटवल सहरको जननी हो । अंग्रेजलाई हराएको राष्ट्रिय गौरवको ठाउँ पनि हो । साँस्कृतिक पहिचान बोकेको ठाउँ पनि हो । गर्नुपर्ने धेरै काम छ ।” पुरानो बजार बटौलीमा थुपै ऐतिहासिक, धार्मिक मठ–मन्दिरहरु पनि छन् । पछिल्लो पटक बटौली संरक्षण सम्बद्र्धन समितिको अगुवाइमा पर्व विशेष कार्यक्रमहरु पनि हुन थालेका छन् । त्यसैले बटौली क्षेत्र सम्भावना बोकेको ठाउँ हो । बुटवलको विकास गर्ने शिलशिलामा पुरानो बटौली बजारलाई भुल्न नहुनेमा उनी जोड दिन्छन् ।