© २०२३
सुर्खेत, ६ असोज ।
दशैं तिहारलाई लक्षित गरेर सुर्खेतमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले उक्त सुपथ मूल्य पसल सञ्चालन गरेको हो । आज एक कार्यक्रमबाबीच सुपथ मूल्य पसलको उद्घाटन गरिएको छ ।
चाडबाडमा आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना अघि सारिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रका अनुसार सुर्खेतको सुपथ मूल्य पसलमा चामल, तेल, ध्यु, गेडागुडीलगायतका उत्पादनहरु बिक्रीमा राखिने छन् । दाल, पीठो, चिउरा र चिनीलगायतका सामाग्रीका लागि केन्द्रीय कार्यालयसँग माग गरिएको बताए ।
खाद्यले हरेक वर्ष सरकारले दशैं, तिहार, छठ जस्ता चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुहरूको अत्यधिक माग हुने हुँदा गुणस्तरीय वस्तु सहुलियत दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्व लक्षित यस्ता पसलमा उपभोक्ताले विभिन्न वस्तुमा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्मको छुट पाउँदै आएका छन् ।