© २०२३
पाल्पा, २६ माघ ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर—दक्षिण भारतदेखि चीनको कोरला जोड्ने कालीगण्डकी करीडोरको गैडाकोट पिपलडाँडा सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तीन वर्षमा निर्माण कार्य पूरा गर्ने गरी २०७५ सालमा ठेक्का सम्झौता भएको यस खण्ड अन्तर्गत १३२ किलोमिटर सडकको ट्रयाक खेली कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । उत्तर–दक्षिण यस खण्डको पाल्पाको पिपलडाँडादेखि नवलपुर जिल्लाको गैडासम्मको १३२ किलोमिटर सडक भारत सरकारको एग्जिम बिकास बैकको ऋण सहयोगमा भारतीय निर्माण कम्पनीसँग तीन वर्षमा पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
कालीगण्डकी करीडोर अन्तर्गत कालोपत्रे गर्ने कार्य ८० प्रतिशत पूरा भएको र बाँकी बैशाखसम्म पूुरा गर्ने गरी निर्माण कम्पनीले काम गरेको इन्जिनियर तथा सूचना अधिकारी पबित्रमणी आचार्य बताउँछन् । करीडोर ११ मिटर चौडा हुने र त्यसमध्ये ७ मिटर कालोपत्रे दायाँबायाँ एक–एक मिटर किनारा र एक मिटरको क्षेत्रफलमा नाली निर्माण हुने मापदण्ड रहेको छ ।
रभ्भा गाउँपालिकाको पिपलडाँडादेखि रामपुर नगर हँुदै निस्दी गाउँपालिका, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकलाई जोड्दै गैंडाकोट नगरपालिकाको गैडाकोट चोक सम्म चार खण्ड अन्तर्गत रामपुर नगरको भलायटारदेखि पिपलडाँडा, नवलपुरको भारतीपुरदेखि रामपुरको भलायटार सम्म नवलपुरको थामीबेसीदेखि भारतीपुर, गैडाकोटको बुलिङको थामीबेसी सम्म भारतीय निर्माण कम्पनी इ.के.के कन्स्ट्रक्सनले स्थानीय निर्माण व्यवसायीको प्रयोग गरी निर्माण कार्य अगाडि बढाएको हो ।
सडक किनारामा रहेका र सडकले चर्चिने घर जग्गाको यथोचित रुपमा मूल्याङ्कन गरी मुआब्जा वितरण कार्य भइसकेको छ भने यस खण्डमा ३९ वटा पुलको निर्माण कार्य पनि तीब्र गतिमा अगाडि बढेको परियोजनाका साइड इन्चार्ज हेमराज ओली बताउँछन् । ०७८ मंसिर १६ मा सम्पन्न गर्ने गरी ०७५ साल मंसिर १७ मा ठेक्का सम्झौता भएको थियो । करिडोरको यस खण्डको निर्माण स्तरोन्नतीको कार्य तीब्र गतिमा हुँदा यस सडकले जोडिएको गाउँ बस्तीको बिकाससँगै बसाईसराईको क्रम शुन्य नै भएको स्थानीयको दाबी छ ।
एक दशक अगाडिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठुलो संख्यामा सुबिधा सम्पन्न सहर बजारमा बसाईसराई गर्ने क्रम थियो । जव करिडोरको ट्रयाक खुल्यो, तव बसाई सरेर अन्यत्र गएकाहरु गाउँ फर्किने क्रम बढेको रभ्भाको हुँगींका स्थानीय दानबहादुर पछाई बताउँछन् । करिडोरको कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ । व्यापार व्यावसायदेखि कृषि उत्पादनमा समेत बृद्धि भएको छ । किसानको उत्पादन गाउँदेखि सहर सम्म पु¥याउन करिडोरको मुख्य भूमिका रहेको रामपुर नगरका अगुवा किसान कृष्ण कुमार अर्याल बताउँछन् ।
परियोजना कार्यान्वय इकाइका इन्जिनियर तथा सूचना अधिकारी पबित्रमणि आचार्यका अनुसार भारतीय निर्माण कम्पनीसँग ५ अर्व ४७ करोडमा ठेक्का सम्झौता भएको हो । भारतीय वित्तिय संस्थाको ऋण सहयोगमा यस खण्ड १३२ किलोमिटर सडकको निर्माण कार्य युद्धस्तरमा भएको छ । त्यसैगरी पाल्पाको पिपलडाँडादेखि बाग्लुङको मालढुँगासम्म, मालढँुगादेखि मुस्ताङसम्म गरी दुई खण्डमा विभाजन गरी सडकको ट्रयाक खोल्ने, स्तरोन्नतीको कार्य भएका छन् । राष्ट्रिय गौरवको सबै भन्दा पुरानो र जेठो कालीगण्डकी करिडोर भए पनि सरकारले बजेटको सुनिश्चिता गर्न नसक्नु, प्रत्येक वर्ष वजेट कटौतीको चपेटामा पर्दा लक्ष अनुरुप भौतिक प्रगति हुन नसकेको सम्बद्ध प्राविधिकहरु बताउँछन् ।