© २०२३
दीपावली नजिकिँदै जाँदा धकधईका ६५ बर्ष पुगिसकेका रामनरेश कोहारलाई भ्याइनभ्याई छ । सिमेन्टको चकियामा माटोको गोलोले उनी सुनौलो दियो (पाला) बनाउन ब्यस्त छन् । उनको ब्यस्तता बर्ष दिनलाई पुग्ने खर्च जुटाउनुसँग जोडिएको छ । अरू समयमा माटोको भाँडा बिक्री कम हुँदा उनलाई फुर्सद जस्तै हुन्छ । घरि घरि बुढो बलले चकियामा भएको प्वालमा लौरोको सहायताले चकियालाई गति दिँदा उनको बल नपुगेको भान हुन्छ । नजिकै रहेका उनका छोरा रामजस कोहार बाबुको त्यो काममा सहयोग गर्न असमर्थ देखिन्छन, कारण उनीमा त्यो सीप नै छैन । अधिकांश समय बैदेशिक रोजगारमा बिताएका रामजस बाबुलाई सहयोग समेत गर्न सक्दैनन् ।
पहिलो पुस्ताको रामनरेश जस्तै अर्को पुस्ता ३५ बर्षिय साधे कोहारको पनि अवस्था उस्तै छ । उनलाई पनि अहिले पाला बनाउन भ्याइनभ्याई छ । छेउछाउमा काँचो माटोको पाला राखेका उनले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाए । “तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ” उनले आफ्नो चिन्ता सुनाए ।
सोधेको भन्दा अलि सुबिधा छ राधे श्याम कोहारलाई । किनकी ९ कक्षामा पढ्ने उनका छोरा सोहन कोहारले उनलाई सघाई रहेका छन् । सामान्यतः सानो पाला र ठूलो पाला बनाउन सिकिसकेका तेश्रो पुस्ताका सोहन बिद्यालय समयपछि बाबुलाई सघाउने गरेको बताए ।
राधेश्याम जत्तिकै भाग्यमानी छैनन् साधे र रामनरेश । राधेश्यामले आफ्नो सीप अगाडि बढाउने उत्तराधिकारी पाएका छन् भने अन्य दुई जना सोही समुदायका भए पनि अब उनीहरूको कला अगाडि बढाउने कोही हुने छैनन् । कला अगाडि बढाउने उत्तराधिकारीको चिन्ता साधे भन्दा बढी रामनरेशलाई छ । साधेको सन्तान अझै पनि बिद्यालयमै रहेको हुँदा उनलाई केही आश छ तर रामनरेशको त्यो आश पनि मरेको छ । “म संगै मेरो कला पनि मर्ने भएको छ ।” सानो आवाजमा उनले सुनाए ।
दुई छोरा मध्ये रामजस अहिले बिदेशबाट कमाएर घर फर्किएका छन । उनले माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि आफूले यो कलामा रुचि नदेखाएको बताए । “भाँडा बनाउन माटो नै पाइनँ, जर्ना दाउराको पनि उस्तै समस्या छ ।
लगानी नै बढी आउँछ त्यसैले बुवा नै यसको अन्तिम कलाकार हो ।” रामजसको भनाइ हो यो ।
उत्तराधिकारीको यो चिन्ता रामनरेशको मात्र हैन । रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा रहेको ३२ कोहार परिवारको साझा समस्या हो यो । माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय बिभिन्न समस्याहरूले गर्दा उत्तराधिकारी कै कारण यो कला गुमाउने अवस्थामा पुगेका छन । माटोबाट बिभिन्न भगवान, जनावरको आकृति, भुडकी, पाला लगायतको सामग्री बनाउने यो समुदायका अधिकांश युवापाला बाहेक अरू केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुदा बैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ ।
कोहार समुदायलाई सबै भन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा रामनरेश कोहार बताउँछन । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए । “बनाउन सके त जति पनि बिक्छ, बजारको कमि छैन तर भाँडा पकाउन दाउरा नै पाईन्न ।” कोहारले आफ्नो समस्या सुनाए । १५ बर्षको उमेर देखि माटोसँग खेल्दै आएका उनले स्थानीय तहको सहयोगको आश समेत गरे । “अहिले प्रधानहरू आएका छन्, हाम्रो लागि जर्नाको ब्यवस्था गरि दिए केही हुन्थ्यो कि” वृद्ध रामनरेशले भने ।
लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा नै बनाएका पनि केही कोहार समुदाय छन् । कोही दिपावलीमा मात्र त कोही बाह्ै महिना यहि कामबाट आम्दानी गरि आफ्नो परिवार पालेका छन । ५६ बर्षिय रामदेव कोहार सिजनको रूपमा ब्यापार गर्छन । यो दिपावलीमा उनले करिब ३० हजार पाला बेचेर ४ गोन जति धान र २० देखि २५ हजार नगद कमाउने लक्ष्य राखेका छन । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन् । उनी भन्दा अलि ठूलो कारोबार गर्ने हुन राम किसुन कोहार उनले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाएका छन् । बिशेष गरि माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाए । परिवार पनि पालिएको र पराम्परा पनि धान्न पाएकोमा उनी खुशी छन् । “गर्न सके यसमा पनि राम्रै आम्दानी छ ।” रामकिसुनले भने ।