© २०२३
दुर्घटनाबाट मृत्यु भएको अनुमान गरिएका एक व्यक्तिको टाउकोमा गोली भेटिएको छ । पोष्टमार्टम गर्दा गोली भेटिएपछि प्रहरीमा खैलाबैला मच्चिएको छ । दुर्घटनाबाट ती व्यक्तिको मृत्यु भएको प्रहरीले अनुमान गरेको थियो । कार्तिक ५ गते राती करिब ९ बजे प्रतापपुर–४ बर्दघाटे पुल नजिकैको बगैंचामा मृत अवस्थामा भेटिएको शवको पोष्टमार्टम गर्दा टाउकोमा गोली भेटिँदा प्रहरीलाई टाउको दुःखाई भएको हो ।
मृतक पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ बर्षिय गणेश मल्लाह रहेको खुलेको छ । शव देखेर स्थानीयले घटनाको भोलिपल्ट प्रहरीलाई खबर गरेका थिए । शवसँगै मोटरसाईकल र लागूऔषध भेटिए पछि प्रहरीले दुर्घटनाको अनुमान गरेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट शवमा रडले घाउ बनाइएको देखिएपछि घरेलु हतियारले हत्या गरिएको अनुमान प्रहरीले गरेको थियो । तत्पश्चात शवको पोष्टमार्टम पृथ्वीचन्द अस्पतालमा दुई घण्टा लगाएर गरिएको थियो ।
चिकित्सकले पोष्टमार्टम गरेर हेर्दा टाउको भित्र सानो पेस्तोलको गोली फेला परेको थियो । टाउकोमा गोली फेला परे पनि अझै प्रहरीले त्यसलाई होममेड हतियारको गोली भनेर दाबी गर्दै आएको छ । हतियार पहिचानका लागि फेला परेको सो गोली परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाइने प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा साना हतियारको विगविगी बढि रहँदा नेपाल प्रहरी र शसस्त्र प्रहरी भने सामान्य सामान चोरी तस्करी सरह नै नजरअन्दाज गर्ने गरेको आरोप स्थानीयको रहेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाल्हीनन्दन–३ कुश्मा बस्ने ३६ बर्षिय नर्वदेश्वर चौहान, सोही ठाउँ बस्ने ३० बर्षिय ओमकार पाण्डे र सुस्ता गाउँपालिका ४ बस्ने ३४ बर्षिय जनक गुरु·लाई पक्राउ गरि अनुसन्धान गरि रहेको जनाएको छ । मृतक, पक्राउ पर्ने र केही फरार अवस्थामा रहेका ब्यतिmहरू सामूहिक रूपमा ब्यापार गर्दै आएका थिए । यिनीहरू बीच लेनदेनको घटनाले मनमुटाव बढ्दै गएको हुँदा सो मनमुटावले हत्यासम्मको घटनामा पुगेको स्थानीयले बताएका छन् । घटना भएको बेला केही राजनीतिक दबाब र प्रभावमा परेर प्रहरीले हत्या प्रकरणलाई सामान्यीकरण गर्न खोजेको पीडित पक्षको आरोप छ । à