© २०२३
बुटवल, २८ पुस ।
रुपन्देही माछा उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा रहेको छ । जिल्लाका विभिन्न ६ वटा पालिका समेटेर माछा सुपरजोन अहिले सञ्चालनमा रहेको छ । लागत कम गरी उत्पादन बढी लिन मत्स्य पालनमा नयाँ प्रविधिको प्रयोग बढ्दो छ । तर, रुपन्देहीका किसानले घरेलु माध्यमबाट माछा पालन गरी राम्रो उत्पादन लिईरहेका छन् । घरेलु प्रविधिले २० प्रतिशत सम्म उत्पादन बढेको किसानको अनुभव छ ।
पोखरीको डिलमा ट्याङ्की निर्माण गरिएको छ । जहाँ गाईभैँसीको गोबर, पिसाब, चुना, भेली, पिना लगायत मिसाइएको ठोस सहितको तरल पदार्थ छ । जुन माछा पालिएको पोखरीमा आवश्यकताका आधारमा राखिन्छ । बनाउने तरिका र त्यसको प्रयोग गर्ने विधि कसरी हो त ?
विशेष गरी पानीमा जैविक, भौतिक र रासायनिक गुणको सन्तुलन नमिले त्यसको असर उत्पादनमा आउँछ । घरेलु प्रविधिको प्रयोगले पानीलाई निष्प्रभावी बनाएर माछाको आहार बनाउन मद्दत मिल्ने माछा विज्ञ बताउँछन् । प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही प्रमुख दिपक भुसालले एकिकृत माछा पालन व्यवसाय परम्पुरागत भएपनि यसले राम्रो उत्पादन दिने बताउँछन् । माछा पालन गर्ने किसानले सँगै पशुपालन पनि गरे गोबर र पिसाब संकलन गर्न सजिलो हुन्छ ।
अधिकांश किसानले माछा पालन गर्दा भुरा सानो राख्ने गरेका छन् । तर, यहाँ छुट्टै पोखरीमा भुरा पालिन्छ । पाँचदेखि ६ सय ग्रामको भएपछि मात्र पोखरीमा छोड्ने गरिएको छ । यसरी वर्षमा आठ पटकसम्म उत्पादन लिने गरेका छन् ।
घरेलु प्रविधिको प्रयोगबाट उत्पादन मात्र बढेको छैन । लागत समेत कम परेको छ । उत्पादन र उत्पादकत्व राम्रो हुने र बृद्धिदर चाँडै हुने भएकाले अन्य किसानले पनि यो घरायसी प्रविधिको प्रयोग बढ्दै गएको हो ।
रुपन्देहीको सियारी गाउँपालिकाको छपिया परम्परागत अन्नबाली गर्ने किसान अभियानमुखी माछापालनमा लागेपछि रूपन्देहीको छपिया क्षेत्र माछापालनका लागि देशकै नमुना बनेको छ । ३७ वर्षअघिदेखि घरैपिच्छे माछापालन थालिएको छपिया क्षेत्रमा ११ वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो ।
यहाँको २२५ हेक्टर क्षेत्रफलको एक हजार पाँच सयभन्दा बढी पोखरीमा माछापालन हुँदै आएको छ । करिब ६ सय व्यावसायिक किसानहरुले वार्षिक एक हजार दुई सय पचास मेट्रिक टन माछा उत्पादन गर्छन् । माछा बिक्रीबाट मात्रै किसानले वार्षिक २५ करोड बढीको कारोबार गर्ने गरेका छन् । यहाँ उत्पादित माछा स्थानीय बजारसँगै पाल्पा,पोखरा चितवन,काठमाडौं तथा भारतको गोरखपुर लगायतका क्षेत्रहरुमा पुग्ने गरेको छ ।
किसानहरूले स्वस्थ माछा उपभोक्ताहरुमा पुर्याउने उद्देश्यले जिउँदो माछा पनि बेच्ने गरेका छन् । छपिया क्षेत्रमा ६ वटा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन् । छपियाको जिउँदो माछा उपभोक्तामाझ लोकप्रिय बन्दै गएपछि अहिले बुटवल,भैरहवा र अन्य बजारमा ३० भन्दा बढी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन् ।
अहिले उक्त आठ करोड लगानीसम्मका होमस्टे सहितका माछा पालन केन्द्र र रेस्टुरेन्ट पनि खुलेका छन् । माछा किन्ने,हेर्ने र माछासँग खेल्ने पर्यटक बढेपछि ५ वर्षयता छपिया र दयानगर क्षेत्रमा खुलेका होटल तथा रेस्टुरेण्टहरूमा पर्यटकहरू माछाबाट बनेका फिस मःम,फिस टिक्का, फिस बल्भ, फिस चिल्ली, फिस फिंगर लगायतका नयाँ परिकारहरूको स्वाद लिन जाने गरेका छन् ।
फ्रोजन माछाको विकल्प
रुपन्देहीको सियारी ५ मा रहेको जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्थाले पछिल्लो समयमा माछा फ्रोजोन गरी बिक्री वितरण सुरुवात गरेको छ । बढी भएको माछा लाई विशेष प्याकेजिङ्ग मेसिनबाट विदेशमा जस्तै फ्रोजोन गरी बिक्री वितरण कार्य सुरुवात गरेको हो । यसको लागि परीक्षण उत्पादन सुरुवात भए पनि पूर्णरुपमा बजारीकरण भने हुन सकेको छैन । सहकारीका अध्यक्ष गणेश बहादुर शाहीका अनुसार छपियाको माछा ब्रान्ड निर्माण गरी देशका विभिन्न स्थानमा विभिन्न विशेष प्रकृतिको ढुवानी भ्यान सहित बिक्री वितरण गर्ने सहकारीको योजना रहेको छ । जस अनुसार मेसिन जडान गरी प्याकेजिङ्ग, लेवलिङ्ग र ट्यागीङ्ग काम गर्ने र सोही अनुसार मूल्य निर्धारण गरेर ढुवानी गर्ने योजना रहेको छ ।
पछिल्लो समयमा माछा खाने, जिउँदो माछा नै लगेर खाने प्रचलन बढ्दै जाँदा फ्रोजोन माछाको मासुमा उपभोक्ताको चासो कम रहेको कारण पनि बजारीकरणमा समस्या भएको अध्यक्ष शाहीको भनाई छ । ‘विदेशमा जस्तो फ्रोजोन माछा, मासुरु खानेप्रचलन नेपालमा कम छ, जसको कारण नि बजारीकरणमा समस्या भएको हो’–अध्यक्ष शाहीले भने । तर जेठको अन्तिम साता तथा असारको पहिलो सातामा पोखरा, चितवन लगायतका जिल्लाबाट माग आएकोले विक्रि गर्ने योजनारहेको उनको भनाई छ ।