© २०२३
रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा लिस्नु युवा क्लब कोटिहवा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा भुपुसैनिक जबई स्र्पोटस क्लब, नयागाउलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिस्नु दोस्रो चरणमा प्रवेश गरेको हो ।
विदेशी खेलाडीसहित मैदानमा उत्रेको लिस्नुका खेलाडीहरूले शुरुवातको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो । आमोद पुनले लिस्नुको खाता खोलेका थिए । खेलको ४३ औ मिनेटमा अमृत गुरुङ्गले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए । पहिलो हाफमा दुई गोलले पछि परेको भुपु दोस्रो हाफमा खेलमा फर्कने धेरै प्रयासहरू गरेको थियो । खेलका ४९ औ मिनेटमा विदेशी खेलाडी ग्लोरीले लिस्नुलाई गोल थप्दै जित सुनिश्चित गरेका थिए । भुपुका तर्फबाट खेलको ७१ औ मिनेटमा निर्बु पुनले सान्त्वना गोल गरेका थिए । लिस्नुका अमृत गुरुङ्ग प्रतियोगितामा म्यान अफ म्याचबाट पुरस्कृत भएका थिए ।
प्रतियोगितामा नवलपरासी, कपिलबस्तुको एक–एक टिमसहित रूपन्देहीका क्लबहरू गरि १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन । गतवर्ष युनाईटेड कपिलबस्तुले उपाधि हात पारेको थियो । सोमबार गोर्खा ब्यायज बुटवल र फर्साटिकर युथ क्लब, फर्साटिकरका बिचमा खेल हुने खेल संयोजक नगेन्द्र छन्त्यालले बताए । à