© २०२३
खरले छाएको जीर्ण घर । कुनैबेला यही घर सबैका लागि राम्रो थियो । बलिया काठले बनाएको । यही घरबाट चारपुस्ता हुर्किए । तर, घरले आफ्नो स्वरूप बदल्न सकेन । जीर्ण बन्दै गरेको घर ०७२ सालको भूकम्पले चर्काएर अझै जीर्ण बनायो । तलपट्टीको भाग पुरै चर्किएको छ । पानी चुहिएर बस्नै सकिदैन । छानाको पानी चुहिएर अँगेनामै पस्छ । यही जीर्ण घरमा वर्षौ बिताइसके झिमरुक गाउँपालिका–४ बांगेमरोठ अल्कामाझ प्यूठानका उमबहादुर रायमाझी क्षेत्रीले । उनी आफैँमा सामान्य मानसिक असन्तुलन छन् । माझीले मरन्ठानाको धगे, बाँदीकोट र अर्घाखाँचीको अर्घाबाट तीनपटक विहे गरे । तीनवटै श्रीमतीले उनलाई साथ दिएनन् । कसैबाट पनि सन्तान भएनन् । माझीले अहिले एक्लो जीवन बिताइरहेका छन् । यसैमाथी जीर्ण घरमा समय बिताउन उनलाई मुश्किल परिरहेको छ । चर्केको घर कतिबेला भत्किने हो निधो छैन ।
गाउँमा उनको मात्र खरले छाएको जीर्ण घर रहेको स्थानीयले बताए । ‘उनी आफैँले घर बनाउने स्थितिमा छैनन्’, छिमेकी लेटर बहादुर खत्री क्षेत्रीले भने,‘उनी कान्छो छोरा हुन् । दाजुभाइले जसोतसो पालेका छन् ।’ एकसरो फाटेको कपडामा उनले वर्षौं विताइसकेका छन् । ६९ वर्षिय माझीको अहिलेसम्म नागरिकता बनेको छैन । चारभाई मध्ये उमबहादुर कान्छो छोरा हुन् । बुवा आमाको करिव २५ वर्षअघि नै मृत्यु भइसक्यो । सबैलाई हुर्काएको ‘बुढोघर’ मर्मत गरिदिन उनले आग्रह समेत गरे ।
तीनवर्षको अवधिमा भूकम्पपछि धेरै घर पूनः निर्माण भइरहेका छन् । माझीको घर बनाउनतर्फ कसैले चासो दिएनन् । उनी आफैले पहल गरेर घर बनाउने अवस्था नभएको स्थानीयले सुनाए । पहुँच नभएका माझीलाई कसैले साथ दिएका छैनन् । भत्किन थालेको घर बनाउनतर्फ निर्वाचित जनप्रतिनिधिले समेत चासो देखाएनन् । ‘उनी सामान्य मानसिक असन्तुलन छन्’,छिमेकी केसीले भने,‘कसैले सहयोग गरेमा उनको घर पूनर्निर्माण हुनसक्छ ।’ भाइलाई जसोतसो पालनपोषण गरेका दाई उदय बहादुर रायमाझीले बताए । विद्युत बिस्तार भएको वर्षौं बितेपनि माझीको घरमा अझैसम्म बिजुली जडान गरिएको छैन । उनी टुकीको उज्यालोमा रात कटाइरहेका छन् ।à