© २०२३
जिल्लाकै केही गाउँपालिकाले जलासय र पोखरी पुर्ने काम गर्दै विवादित भए पनि जिल्लाको सुस्ता गाउँपालिका स्थित जलासयलाई ब्यवस्थित गराई पोखरी निर्माणमा लागेको छ । गाउँपालिकाले १ करोड रकम विनियोजन गरी जलासय संरक्षणमा अग्रसरता देखाएको हो । गाउँपालिका क्षेत्र भित्र रहेको नारायणी नदीको छाडन भनेर चिनिने ठूलो जलासयलाई ब्यवस्थित गर्नका लागि सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गोहीहरू समेत सो जलासयमा बास स्थान बनाई बस्ने गरेको उतm जलासयलाई ब्यवस्थित गरि छेउछाउमा पोखरी निर्माण गर्ने,बीचको गहिरो भाग जलासयकै रूपमा ब्यवस्थित गर्ने गरि जलासय ब्यवस्थापनका लागि बजेट कार्यक्रम ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बताइन् । जलासय ब्यवस्थापन नहुँदा अनियन्त्रित रूपमा अतिक्रमण हुने गरेको छ, उनले भनिन्, यो बजेटले सिमांकन गरि जलासयको बिस्तृत अध्ययन गराइने छ । तत्पश्चात कुन भागमा पोखरी निर्माण गर्न सकिन्छ, कुन भागलाई जलासयकै रूपमा संरक्षण गर्ने जस्ता कार्य अध्ययन पश्चात पत्ता लगाई मात्र काम अगाडि बढाउने रहेको छ ।
वि.सं.२०१६ सालमा गण्डक सम्झौता हुनु पूर्व नै नारायणी नदीले आफ्नो धार फेर्दा सो क्षेत्रमा जलासय बनेको थियो । जलासय करिब १ हजार विघाको रहेको छ । नारायणी नदी सोही क्षेत्रले बगेर गएका कारण अर्बाैको गिट्टी र बालुवा समेत सो जलासय मुनि रहेको छ । ठूलो जलासय भएका कारण सयौ गोहीहरू रहेका छन् । गोही संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण समितिले समेत सो जलासय ब्यवस्थापनका लागि विगतमा काम गरेको थियो । केही गोही समेत ल्याएर संरक्षणका लागि सोही जलासयमा छाडेको थियो । अहिले पानीको स्रोत कम हुँदै जाँदा जलासय पुर्दै वरिपरिबाट अतिक्रमण बढ्दै गएको छ । गिट्टि र बालुवा चोर्ने क्रम बढेको छ । गिट्टि र बालुवा चोर्ने क्रममा जलासयमा रहेका गोहीहरू समेत अशुरक्षित छन् । जलासयमा मानिसको आवागमन बढ्दा गोही संकटमा पर्ने गरेको उपाध्यक्ष थरुनीको भनाइ थियो । अब गाउँपालिकाले नै जलासय संरक्षण गर्ने, त्यसको स्रोतलाई जनताको हितका लागि सदुपयोग गर्ने योजना सारेको छ । वरिपरिको अतिक्रमण खाली गराई पोखरी निर्माण गराई दिने उद्देश्यले एक करोड बजेट विनियोजन गरिएको छ, उपाध्यक्ष थरुनीले भनिन्, वरिपरि पोखरी भएपछि त्यसमा माछापालन गरेर आयस्रोत बनाइन्छ, साथै विच भागमा रहेको गोहीको समेत संरक्षण हुन्छ । पोखरी खन्दा निस्कने गिट्टि र बालुवा समेत प्रकृया पुरा गरि लिलाम बिक्री गरि गाउँपालिकाले आम्दानी गर्ने उनको भनाई थियो । गाउँपालिकाको यो कार्यक्रमले वरिपरिका बासिन्दा समेत उत्साही भएका छन् । चोरी भएर जाने जथाभावी प्राकृतिक स्रोतको गाउँपालिकाले जनहितमा उपयोग गर्ने भएकोले गाउँले समेत उत्साही भएको स्थानीय सुरज कोहाँरले बताए । अन्य गाउँपालिकाले पोखरी पुर्दैै जलासय विनासमा लागे पनि सुस्ता गाउँपालिकाले संरक्षण गर्ने योजना अगाडि सारेर सराहनिय कार्य गरेको जिसस प्रमुख शिव शंकर रायले जनाए ।