© २०२३
लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरूका लागि लुम्बिनी विकास कोषले अत्याधुनिक ईलेक्ट्रोनिक टिकट लागू गरेको छ । करिब डेढ महिना अघि परीक्षणका लागि शुरु गरिएको ई–टिकट प्रणालीलाई कोषले अब स्थायी रूपमा लागू गरेको बिकास कोषले जनाएको छ । यो टिकटले लुम्बिनीको टाउको दुःखाई रहेको नक्कली टिकट लगायतको समस्या समाधान गर्ने कोषको धारणा छ । यस अघि पटक पटक लुम्बिनीमा कोषकै कर्मचारीको मिलमतोमा नक्कली टिकटहरू बिक्रि भएको घटनाहरू बाहिर आएको थियो ।
यस अतिरिक्त टिकट प्रिन्ट हुने स्थानबाट पनि यसको दुरूपयोगको सम्भावना रहेको कारण अब देखी ई टिकटको ब्यवस्था गरिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए ।
बिभिन्न ठाउमा गरेको अध्ययन पश्चात लुम्बिनीको मायादेवी मन्दिर दर्शनका लागी आउने पर्यटकलाई यो टिकटको ब्यवस्था गरिएको मेत्तेयले बताए । रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला बाहेकका सबै पर्यटकलाई यो टिकट अनिवार्य गरिएको छ । पहिला टिकट काटिने ठाउँबाटै यो प्राप्त गर्न सकिने उनले बताए । टिकट लिँदा नै पर्यटकको सम्पूर्ण तथ्यांक लिईने हुँदा यसले मायादेवी मन्दिर भ्रमणमा आउने वास्तविक पर्यटकको संख्या यकिन गर्न पनि सहयोग पु¥याउने कोषको धारणा छ ।
“यसले लुम्बिनी आउने तीर्थयात्री र पर्यटकहरूलाई प्रभावकारी, सरल तथा छिटो र छरितो सेवा दिने भएको छ बेला बखत चर्चा हुने गरेको नक्कली टिकट आदिको समस्या सधैँका लागि समाधान भएको छ,” उपाध्यक्ष मेत्तेयले भने ।
यसको मुख्य सर्भर कोषको प्रधान कार्यालयमा र सम्पर्क कार्यालय काठमाडांैमा समेत रखिएको जनाउँदै उनले यसलाई कसैले पनि ईडिट गर्न नसक्ने गरि बनाइएको बताए । अहिलेलाई ४ वटा कम्प्युटर टिकट काट्ने स्थानमा र १ वटा ल्यापटप र स्क्यानर सहित मायादेवी मन्दिर प्रवेशद्वारमा राखिए पनि भविष्यमा यसलाई अझै बिस्तार गरिने उनले बताए ।