© २०२३
मल्लरानी गाउँपालिका–१ चुँजा अल्कामाझ प्यूठानका मेघ बहादुर केसीको जीवन २१ वर्षदेखि साङ्लोमै गुज्रिरहेको छ । उनी २०५१ सालमा कक्षा आठसम्म पढ्दा अन्य व्यक्तिसरह थिए । जिल्ला स्तरीय परीक्षामा समेत रामै्र अंक लिएर उत्तीर्ण भए । अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित सूर्य मावी गोखुंगामा पढ्दै थिए । २०५१ सालमा विद्यालयबाट घर आइसकेपछि उनलाई एक्कासी बान्ता भयो । मदिरा सेवन गर्दैन्थे उनी । तर, बुवा आमाले ‘रक्सी खाएर आइस ?’ भनेर हप्काए । केसीले आफ्नो वान्ता आफैँ सफा गरे । १८ वर्षको तन्नेरी उमेर । आठ कक्षा पास गरेर भर्खर नौ कक्षामा भर्ना भएका केसीलाई विस्तारै विसन्चो बढ्दै गयो । त्यसपछि उनी विद्यालय जानै पाएनन् । त्यहीँबाटै सकियो उनको स्कुले जीवन । घरमा होहल्ला गर्ने, बुवा आमालाई गाली गलोज गर्ने, पिट्ने र घरबाट निस्केपछि हप्तौसम्म हराउने गर्न थाले उनी । बुवा आमालाई दिनहुँ चिन्ता बढ्दै गयो । दिनप्रतिदिन यस्तै क्रियाकलाप दोहो¥याउन थालेपछि परिवारले उपचारको बाटो खोजे । भारतको पञ्जाव र गोरखपुरमा लगियो । डाक्टरले औषधी खाएर निको हुने सल्लाह दिए । २०५१ देखि ०५४ सालसम्म निरन्तर औषधी सेवन गरे । तर, केसीलाई निको भएन ।
परिवारले सम्हाल्नै नसकेपछि उनको दुवै हातखुट्टा साङ्लोले बाँधेर छुट्टै कोठामा राखेका छन् । २१ वर्षदेखि उनको जीवन निरन्तर साङ्लोमै गुज्रिरहेको छ । दाह्री बढेर बाक्लै भइसके । दिसापिसाव ओछ्यानमै गर्छन् । दैनिक सरसफाई गर्ने धेरै टाढाको जस्तो भइसक्यो । फाँटेका ओड्ने, ओछ्याउने कपडा । बृद्ध बुवा÷आमाले उनको दैनिक स्याहार गरिरहेका छन् । ‘लाउँलाउँ र खाउँखाउँको उमेर थियो’, ६८ वर्षिय बुवा डोर बहादुर केसीले भने,‘पढ्ने बेला बिरामी भएको छोरालाई अहिलेसम्म निको भएन ।’ ६ भाईमध्ये उनी माइलो छोरा हुन् । अरू छोरा ठिक छन् । ‘सवै छोराहरूको घरजम भइसक्यो’,केसीले विलौना गर्दै भने,‘हामी बुढाबुढीलाई मर्नेबेला उल्टै यसको स्याहार गर्नुप¥यो ।’ तीनवर्ष औषधी खुवाएपनि निको हुन नसकेको उनले सुनाए । मेघ बहादुर ४० वर्षका भए । उनलाई अन्य कुनै रोग छैन । मानसिक असन्तुलन भएका केसीको घरपरिवार वर्षौदेखि पीडामा छटपटिरहेको छ ।
‘यस्ता विरामी सन्चो भएको खवर सुनेका थियौँ’,आमा टिका केसीले भनिन्,‘हाम्रो छोरालाई उपचार गर्ने कोही भेटिएनी हुन्थ्यो ।’ छोरालाई सन्चो हुने भए अस्पतालमा लगेर उपचार गराउने मन बुवा आमाको छ । तर, आफूहरूसँग पैसा नहुँदा छोरालाई वर्षौदेखि साङ्लोमै बाँधेर राख्नुपरेको उनीहरू दुःखेसो गर्छन् । शुरुमा छोराकै उपचार गर्न ऋण खोजेको पैसा भारतमा नोकरी गरेर जसोतसो तिरेको डोर बहादुरले बताए । ‘मेलापात गर्न जाँदा पनि भागेर जान्छकी भन्ने छटपटी हुन्छ’, उनी भन्छन्, ‘यसैको चिन्ता गर्दागर्दै मरिन्छ की जस्तो लाग्छ ।’ पाँचभाई छोरा आ–आफ्नो बन्दोवस्त गरेर बसेका छन् । तीन बहिनी सबै छोरीको बिहे भइसक्यो । घरमा बुढाबुढी मात्र बसेको उनले जानकारी गराए । मेघ बहादुरलाई नेपाल सरकारले निलो अपांग परिचयपत्र प्रदान गरेको छ । मासिक छ सय रूपैयाँ भत्ता बुझ्ने गरेको बुवा डोर बहादुरले बताए । मिठो मसिनो खान मनलागे उनीहरूले यही पैसाबाट जोहो गर्छन् । अवस्था हेर्दा ‘क’ बर्गको अपांग परिचयपत्र दिनुपर्ने भएतापनि केसीले २०७४ साल पुसमा ‘ख’ वर्गको निलो परिचयपत्र पाएका हुन् । ‘क’ वर्गको परिचयपत्र प्राप्त गर्नेले मासिक एक हजार रूपैयाँ भत्ता बुझ्दै आएका छन् । गाउँमै पुगेको घुम्ती शिविरबाट उनलाई महिला तथा बालवालिका कार्यालयले परिचयपत्र दिएको थियो । गाउँका अन्य व्यक्तिहरू भेट्न जाँदा उनले केही गर्दैनन् । तर, बुवा आमा नजिक पर्दा गालीगलौज गर्ने गर्छन् । उनको मिलेको शरीर छ । खरले छाएको घरसँगै छुट्टै कोठा बनाएर उनलाई राखिएको छ । घरको आर्थिक अवस्था कमजोर छ । पीडामा बाँचेका बृद्ध बुवा/आमालाई ‘मर्नेबेला’ छोराको उपचार गरेर निको भएको हेर्ने ठूलो मन छ ।