© २०२३
रूपन्देहीको सैनामैना नगरपालिका–९ हर्नैया गाउँकी ३२ बर्षकी इन्द्रमति पासी अक्षर लेख्न पढ्न जान्दिनन् । कहिँकतै हाजिरी र प्रमाण चाहिए उनलाई ल्याप्चे लगाउन हाँडी वा तावाको कालो (हेर्नुस् तस्वीर) खोज्नुपर्छ । रूपन्देहीकै साविकको मधुवनी गाविसको महिलवार गाउँमा माइती भएकी पासी पढ्नका लागि कहिल्यै विद्यालय नगएको र अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गतका साक्षरता कक्षामा पनि भाग नलिएको बताउँछिन् । सोही गाउँका प्रकाश पासी पनि अक्षरको अनुहार चिन्दैनन् । उनी भन्छन्–‘सानोमा पढ्न पाइएन, पढ्नुपर्छ भनेर पनि कोही आएनन् मलाई कालो अक्षर भंैसी बराबर भो ।’ अक्षर लेख्न पढ्न नजान्दा हिँडडुल गर्दादेखि अस्पतालमा उपचार गर्न जाँदा अप्ठ्यारो हुने गरेको पासी बताउँछन् । उनले पनि कहिँकतै नाम लेख्नुपरे कालो खोजेर ल्याप्चे लगाउने गरेको सुनाए ।
इन्द्रमति र प्रकाश मात्र होइन उक्त गाउँका पञ्चराम मल्लाह, झिनकु पासी लगायतका अधिकांश यूवा र प्रौढ उमेर समूहका व्यक्तिहरू निरक्षर छन् । अक्षर नचिन्दा उनीहरूले सुनेकै र भनेकै भरमा जीवन चलाइरहेका छन् । यो देख्दा लाग्छ ल्याप्चे गाउँ त होइन यो ।
रूपन्देहीमा यसरी अक्षर नचिन्ने निरक्षर संख्याको तथ्यांकलाई सरकारले साक्षर भएको देखाएपनि गाउँ र शहरहरूमा अक्षर नचिन्नेहरू छ्यापछ्यापती भेटिन्छन् । बैंकमा पैसा निकाल्दा होस्, बृद्ध भत्ता बुझ्दा होस् या हाजिरीमा हस्ताक्षर गर्नुपर्दा होस् रूपन्देहीबासीहरू अझै पनि बाक्लो संख्यामा ल्याप्चेकै भरमा छन् । यो संख्या पछाडि पारिएको क्षेत्र, समुदाय र बर्गमा बढी छ । महिलाको संख्यामा बढी देखिएपनि पुरुषको संख्या पनि महिलाको भन्दा धेरै कम नभएको अनुमान छ । रूपन्देही पूर्ण साक्षर जिल्लाको रूपमा घोषणा भएपनि अझैपनि यहाँका महिला पुरुषहरू अक्षर चिन्दैनन् र लेख्दैनन् । पूर्ण साक्षर जिल्ला घोषणा गरिएपनि रूपन्देहीमा अझैपनि करिब २५ प्रतिशतको हाराहारीमा निरक्षर व्यक्तिहरू रहेको अनुमान छ । घोषणापछि जिल्लामा निरक्षरहरूलाई अक्षर चिनाउने कार्यक्रम बन्द गरेको छ । साक्षर भएकाहरू पनि सिकाई दैनिक व्यवहारसँग नजोडिँदा पुनः निरक्षर बनिरहेका छन् । यसले अझै निरक्षरको संख्या घट्न सकेको छैन । निरक्षर भएकाहरूलाई अक्षर चिनाउन र साक्षर भएका व्यक्तिलाई अभ्यासका लागि निरन्तर शिक्षाको कार्यक्रम संचालन गर्ने गरेको छ । तर उक्त कार्यक्रम पनि प्रयाप्त र प्रभावकारी देखिँदैन । सरकारले रूपन्देही जिल्ल्लामा तीन हजारको हाराहारीमा मात्रै निरन्तर शिक्षाको कार्यक्रम संचालन गरेको छ । जुन कार्यक्रमहरूलाई शिक्षा कर्मीहरूले हात्तीको मुखमा जिराको संज्ञा दिने गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई, रूपन्देहीका प्रमुख दिवाकर भण्डारीले साक्षर र नवसाक्षरहरूका लागि आवश्यकतामुखी कार्यक्रम संचालन नहुँदा समस्या रहेको बताउँछन् । उनले साक्षरता कार्यक्रमले वास्तविक रूपमा निरक्षरहरूलाई तान्न नसकेको र नव साक्षरहरूका लागि निरन्तर शिक्षाको कार्यक्रम भएपनि कम कोटा र एउटै प्रकारको पाठ्यसामग्री भएका कारण प्रभावकारी नभएको बताए । निरन्तरता शिक्षाको कार्यक्रमलाई तहगत रूपमा पाठ्यक्रम र पाठ्यपुस्तकको परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । बि.सं. २०६८ को जनगणनामा रूपन्देहीमा ५ बर्ष भन्दा माथिको जिल्लाको साक्षरता प्रतिशत ६९ दशमलब ७९ प्रतिशत छ । जिल्लामा १५ देखि ६० बर्ष उमेर समूहका जिल्लाको साक्षर जनसंख्या ९६ दशमलव ७९ प्रतिशत पुगेको भन्दै रूपन्देहीलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार, २०६८ को जनगणनामा ८ लाख ८० हजार १ सय ९६ कुल जनसंख्यामध्ये १५ देखि ५९ बर्ष उमेर समूहको जनसंख्या ५ लाख १४ हजार ५ सय ५ थियो । जसमध्ये, आर्थिक बर्ष २०७१/०७२ को सुरुमा निरक्षर जनसंख्या ५२ हजार ९ सय २८ थियो । आर्थिक बर्ष २०६९÷०७० देखि २०७१/०७२ सम्ममा ५० हजार ९ सय ५० जना साक्षर भएको शिक्षा विकास तथा समन्वय इकाई, रूपन्देहीसँग तथ्यांक छ । ९५ प्रतिशत साक्षर भएपनि पूर्ण साक्षर घोषणा गर्न सकिने अन्तर्राष्ट्रिय अभ्यास छ ।
तस्वीरमाः इन्द्रमति पासी (३२) ल्याप्चे लगाउनका लागि बुढी औंठामा तावाको कालो लगाउँदै ।