© २०२३
गुल्मी, ०१ माघ ।
रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुइवटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
हवाई सेवा बन्द भएपछि गुल्मेलीहरू केही समयका लागि हाललाई हवाई सेवाबाट बञ्चित हुनु परेको छ । नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरुमा सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो ।
यात्रुहरूको बढ्दो चाँपका कारण उडान संख्यामा बृद्धि गरि सातामा चार पटकसम्म उडान गर्दै आएकोमा वायुसेवा निगमको जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुइ पटक र एक पटक हुँदै अहिले पुर्ण रूपमा सेवा बन्द भएको छ ।
जहाजको इन्जिन साइकल सकिएपछि नेपाल एयरलाइन्ससँग भएको दुइवटा ट्वीनअअटर जहाज ग्राउन्डेड भएको नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन । नेपाल एरलायन्ससँग थप ट्वीनअटर जहाज नभएको कारण ग्राउन्डेड भएका विमानको मर्मत संभार भैरहेको हुँदा हवाई सेवा नियमित हुन अझ केही समय लाग्ने थापाले बताए ।
पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट साताका एक पटक बिहिबार मात्र उडान हुँदै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७:३० बजे नियमित उडान गर्दै आईरहेको थियो ।
निगमले काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार पाँच सय रूपैंया र रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार तीन सय रूपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक हावाको चाँपका कारण प्राबिधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गरिदै आएको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि २१ महिनाको अबधिमा एकतर्फी रूपमा ९० वटा उडान भैसकेको छ ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि ११ सय ६५ र काठमाडौंबाट रेसुङ्गाका लागि एक हजार ८८ गरि कुल २ हजार २ सय ५३ जना यात्रुहरूले हवाई सेवा लिएको नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख थापाले बताए । दुइतर्फी उडानबाट नेपाल वायुसेवा निगमले हालसम्म एक करोड ४० लाख भन्दा वढी राजस्व समेत सङ्कलन गरेको बताईएको छ ।
पछिल्लो समयमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूको संख्यामा समेत बृद्धिहुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्याधिक चाँप हुँदाहुँदै पनि निगममा जहाज अभावका कारण जिल्लामा यात्रुहरूले पटक पटक समस्या भोग्न बाध्य बनेका छन ।