प्रयागराज, २९ पुस ।
भारतको प्रयागराजमा महाकुम्भको शुभारम्भ भएको छ। आज पौष पूर्णिमाको अवसरमा पहिलो स्नानमा ६० लाख भक्तजनले स्नान गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहान ९ः३० बजेसम्म ६० लाख श्रद्धालुहरूले संगममा स्नान गरेका छन् र उत्तर प्रदेश सरकारले १ करोड भक्तजनको आगमनको अपेक्षा गरेको छ।
यस वर्षको महाकुम्भ १४४ वर्षपछि एक दुर्लभ खगोलीय संयोजनका कारण विशेष महत्व राख्दछ। भक्तजनहरूले संगममा २० क्विन्टल फूल चढाउने तयारी गरेका छन्।
प्रयागराजमा देशभरका भक्तजनहरूको भीड लागिरहेको छ, र त्यहाँ जर्मनी, ब्राजिल, रुस लगायत २० भन्दा बढी देशका श्रद्धालुहरू पनि महाकुम्भमा सहभागी भएका छन्। प्रशासनले प्रत्येक घण्टामा २ लाख भक्तजनलाई स्नान गर्नका लागि व्यवस्थापन गरेको छ।
महाकुम्भमा स्नान गर्न आएका भक्तजनहरू ४५ दिनसम्म चल्ने कल्पवासमा सहभागी हुनेछन्। संगममा जाने सबै बाटोमा भक्तजनको ठूलो भीड रहेको छ, र सवारी साधनको प्रवेश बन्द गरिएको छ। भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगेका छन्। सुरक्षा व्यवस्थाका लागि ६० हजार सैनिक खटाइएको छ।
यसैबीच, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि महाकुम्भमा पुगेकी छन्। उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छन् र अब कल्पवासको प्रक्रिया शुरू गर्ने बताइएको छ।