Butwal Today

सुनवलका मोहन क्षेत्री पक्राउ

२७ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा भाइटिकाको दिन ठेला व्यवसायीमाथि दुर्व्यवहार गर्दै फूलमालामा क्षति पुर्‍याएको आरोपमा सुनवलका मोहन क्षेत्री पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुनवलले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। ठेला व्यवसायीले भारतीय फूलमाला तथा प्लास्टिकजन्य सामग्री बिक्री गरेको भन्दै आक्रोशित भएका क्षेत्रीले उनीहरूको फूलमाला सडकमा फ्याँकेर क्षति पुर्‍याएको आरोप छ।
सुनवल बजार क्षेत्रमा ठेलामा राखेर सयपत्री फूल र केही प्लास्टिकका माला बिक्री गरिरहेको अवस्थामा एक्कासि फूलमाला सडकमा फ्याँकिएपछि ठेला व्यवसायी र स्थानीय व्यवसायीबीच तनाव सिर्जना भएको थियो।

इलाका प्रहरी कार्यालय सुनवलका इन्स्पेक्टर लक्ष्मण देवकोटाले दिएको जानकारीअनुसार क्षेत्रीलाई पक्राउ गरिएको छ। तर, घटनाबारे हालसम्म कुनै जाहेरी प्राप्त भएको छैन। प्रहरीले जाहेरी प्राप्त भएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।यता, जाहेरी नदिने र आपसी सहमतिमै समस्याको समाधान गर्ने पक्षमा ठेला व्यवसायी रहेको बताइएको छ।

पक्राउ परेका क्षेत्रीको सुनवलमै किराना पसल रहेको छ। घटनालाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ। यसैबीच सुनवल उद्योग वाणिज्य सङ्घको भूमिकालाई लिएर समेत सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको बुझिएको छ। तर उनीहरू पक्राउ परेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?