© 2026
काठमाण्डौ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
हिजो भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो । कर्णालीले दिएको १ सय ६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का हाने । निरोसन डिकवेल्लाले १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कर्णालीका लागि मार्क वाटले ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । पवन सर्राफ र हुसैन तलातले समान एक विकेट लिए । यसअघि त्रिवि रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली ४ बल बाँकी छँदै १ सय ५ रनमा अलआउट भयो ।
ओपनर दीपेन्द्र रावत शून्यमा बोल्ड हुँदा अरिफुल इस्लाम र दीपक डुम्रे समान ४ रन बनाएर आउट भए । कप्तान डेविड मिलर ५ रनमै क्याच आउट भए । सोमपाल कामीले २८ र हुसैन तलातले २४ रन बनाए । गुल्शन झाले १३ र पवन सर्राफले १२ रन जोडे ।
लुम्बिनीका लागि अविशेष गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले समान २ विकेट तथा रुवेन ट्रम्पलम्यान र शेर मल्लले समान एक विकेट लिए ।
हिजो भएको पहिलो खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदै पोखरा एभेन्जर्स एनपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । एनपीएलको यस सिजनमा पोखरा प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ ।
एनपीएलमा आज पहिलो खेल दिउँसो साढे १२ बजे काठमाण्डौ र सुदूरपश्चिम तथा दोस्रो खेल बेलुकी ५ बजे जनकपुर र चितवनबीच हुनेछ ।