© २०२३
बुटवल, ०१ माघ ।
माघे संक्रान्ती मेलाको दिन कुनै बेला भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक भित्रने सहस्रधारा मन्दिर ओझेलमा परेको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ र पाल्पा क्षेत्र गरि दुई जिल्लामा पर्ने रमणिय धार्मिकपर्यटकीय स्थल सहस्रधाराको संरक्षणमा सरकार उदासिन देखिन्छ । दुबै जिल्लाले अपनत्व नलिदा यो थलो ओझेलमा परेको हो । किवंदन्ती अनुसार यस भुमिमा सिद्धयोगीहरूको बास भएको स्थलको रूपमा परिचित छ । माघको चिसोमा धार्मिक भक्तजनहरू नुहाउने र पूजापाठ गर्ने यो स्थल धार्मिक र पर्यटकिय रूपमा चिनिन्छ । तितोत्तमा नदी अस्थाई काठको पुल तरेर ठूलो झरनासंगैको तातोपानी यहाको विशेषता हो । प्राकृतिक रूपमा तातोपानी बग्ने यो स्थलमा धार्मिक पर्यटकहरू माघे संक्रान्तीमा भित्रने गरेका छन ।
सह्रसधारा शिवालय मन्दिर समितिका अध्यक्ष राजकुमार पाण्डेले तिनाउ नदी पारी एकान्त, शान्त मनोरम वातावरणमा योगीहरू ध्यानमा बस्ने गरेको किवदन्ती बुढापाकाबाट सुनेको बताए । ‘यहाँ एउटा गुफा छ ।’–उनले भने । झरनाको तल्लो स्थानमा रहेको गुफासंगै तातो पानीको मुहार पनि छ । जहाँबाट गर्मीमा चिसो र जाडोमा तातो पानी आउने गर्छ । आज नुहाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । बुढापाकाहरू यहाँ सत भएको मान्छन । माघे सक्रान्ती अर्थात माघ महिनाको प्रथम दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ । यो वर्ष मन्दिर जाने बाटो भत्किएको तथा झरनाबाट बग्ने पानीले धेरै क्षति गर्दै गएको उनले दुखेसो गरे । पत्रे चट्टानमा पर्ने यो झरना क्षति हुँदै गएको छ । स्थानीय सरकारसँग गुहार गरेर बाटो बनाउने काम सम्पन्न गरेको उनले बताए । स्थानीय समाजसेवीको अगुवाईमा मन्दिर निर्माण र नियमित पूजा शुरु गरेको भएपनि वर्षामा स्थायी बाटो नहुँदा पूजालाई निरन्तरता दिन नसकेको उनले बताए । केही महिनाअघि मन्दिरको घण्ट समेत चोरी भएको उनले बताए । ‘हामीले प्रहरीमा उजुरी दिएका छौ ।’–उनले भने ।
माघे संक्रान्ति र शिवरात्रीमा यहा पूजाआजा गरिँदै आएको छ । पुजाआजाबाट उठेको रकमबाट संरक्षणको काम हुँदै आएको छ । सरकारबाट ब्यवस्थापनको पाटोमा काम सुस्त हुँदा ओझेलमा परेको उनले दुखेसो गरे । प्रत्येक वर्ष सामुदायिक वनको सहयोगमा अस्थायी पुल निर्माण गर्ने काम स्थानिय युवाहरूले गर्दै आएको छ । मन्दिर समिति र युवाहरूको श्रमदान गरेर काठबाट अस्थायी पुल बनाउने काम गर्दै आएको उनले बताए । मन्दिर ब्यवस्थापन समितिबाट दर्शनार्थीहरूलाई तातो चिया, तरुल, प्रसाद बितरण गरिँदै आएको छ ।
मेलामा साथीभाईसँग रमाईलो गरेको वयोवृद्ध केशव पौडेल (चश्मे हल्दार) लाई आजै जस्तो लाग्छ । ‘कुनै समय सह्रसधारामा ठूलो मेला लाग्थ्यो ।’—उनले भने । मेलामा सहयोगीका रूपमा खटिने गरेको उनले बताए ।
बर्षेनी माघे संङक्रान्तिको दिन पर्यटक र ब्यापारीहरूको भिड लाग्ने उनले सुनाए । त्यो बेला बाटैभरि पुजा सामग्री, मिठाई, मालाका परिकारहरूले झकिझकाउ हुने गरेको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले सह्रसधाराको ऐतिहासिक, धार्मिक महत्वलाई बचाउन जरुरी रहेको भन्दै पाल्पा र रूपन्देही जिल्लाको समन्वयमा दीर्घकालिन योजनासहित डिपिआरको प्रक्रिया अघि बढाउन थालेको बताए । झरनाबाट बग्ने नदीलाई ब्यवस्थापन गर्ने र स्थायी बाटो निमार्ण गर्न जरुरी रहेको उनले बताए ।