© २०२३
काठमाडौं ।
चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा नेपाल आएका हुन्।
भारतबाट आइतबार हिँडेकी उनी १५ जनाको टोलीसँग नेपाल पुगेकी छन्। आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार, देवी प्रतीभा आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ स्थित ठिमुरा रिसोर्टमा प्रेस मिट आयोजना गर्नेछन्।
“प्यार से बोलो ना” भनेर चर्चाको शिखरमा पुगेकी देवी प्रतीभा १० दिनसम्म नेपालमा रहने कार्यक्रम रहेको छ। २३ वर्षीया काभ्रेली चेली, जसले पशुपतिनाथ मन्दिरमा १५ दिन कथा वाचन गरेर संसारभरिका नेपालीको मन जितेकी थिइन्, उनले विश्वकै बढी खोजी गरिएको कथावाचिका बन्न सफल भएकी छन्।
देवघाट महामहोत्सवमा देवी प्रतीभा अलावा ईश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।
यस महोत्सवको अवसरमा मकर स्नान माघ महामहोत्सव पनि आयोजना गरिनेछ, जसमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माणमा सहयोग जुटाउने उद्देश्य राखिएको छ। यसका लागि उठेको सहयोग रकम निर्माणाधीन मातापिता सेवा आश्रमको लागि खर्च गरिनेछ।
त्यस्तै, माघ महिनामा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम र देवघाट दिव्य धाम मन्दीरको शिलान्यास पनि गरिनेछ, आयोजक कमिटीले जानकारी दिएको छ।