© २०२३
पाल्पा, २९ पुस ।
माघे संक्रान्तीलाई लक्षित गरेर उत्पादन हुने तरुल विगत वर्षका तुलनामा यसवर्ष बढी मूल्यमा बिक्री भएको छ । तिनाउ गाउँपालिकाको मस्यामकी खुमकला दलार्मी गत वर्षको तुलनामा एक धार्नीमा ५० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री गरेको बताउँछिन् । “पहिले पहिले जस्तो सजिलो छैन । तरुल वन्य जन्तु –(बाँदर, वनेलबाट जोगाउनै कठिन हुन्छ । विगतका तुलनामा उत्पादन कम भएकोले मूल्यमा बढी भएको हो”–उनले भनिन् ।
निस्दी गाउँपालिकाका ज्यामिरे, मित्याल, झिरुबास अर्चले गाउँहरुका कृषकहरुले स्थानीय जातको परम्परागत शैलीबाटै व्यावसायिकरुपमा तरुल खेती गरेका छन् । यहाँबाट प्रत्येक वर्ष १,२ ट्रक काठमाडौंको कालीमाटी तरकारी बजारमा तरुल लैजाने गर्दछन् । यसवर्ष पनि तीन प्रकारका तरुलका प्रजातीहरु एक हप्ता अगाडि काठमाडौं पुगेको स्थानीय व्यवसायीहरु बताउँछन् । यहाँ उत्पादन भएका तरुलहरु पोखरा, बुटवल सम्मका बजारमा पुग्दछ । यस वर्ष तरुल १ धार्नीको १०० देखि १ सय ५० रुपैयाँ सम्ममा बिक्री भएको स्थानीय व्यापारी दुर्गा प्रसाद श्रेष्ठ बताउँछन् ।
पुर्वखोला गाउँपालिका विरकोटका स्थानीय विजया दर्लामीले माघें संक्रान्तीलाई लक्षित गरेर बारीबाट निकालिएको तरुल पिडालु यसपटक राम्रो मूल्यमा बिक्री गरेको उनी बताउँछिन् । गत वर्ष घरैबाट प्रति के.जी. ६० रुपैयाँमा बिक्री गरेको तरुल यसवर्ष प्रति केजी ८० मा बिक्री भयो । यता वन्यजन्तुको समस्या छैन । जहाँ वन्यजन्तुको समस्या छ, त्यहाँ वाली नै जोगिदैन । “बँदेलले त रातैभरी खनेर भ्याउँछ । जोगाउन निकै कठिन छ । त्यसैले गर्दा यसवर्ष बढी मूल्यमा बिक्री भयो”– उनले भनिन् ।
माथागढी गाउँपालिकाको चिदीपानीका खुमबहादुर नेपालीले भने, “गत वर्ष रामै मूल्यमा बिक्री भयो भनेर बारीभरी तरुल खेती गरेको दिनमा बाँदर र रातमा बँदेलले बिउ नै नराखी नष्ट ग¥यो ।”
रिब्दीकोट गाउँपालिका देउराली गाउँ परापुर्व कालदेखि नै तरुलको खेती गर्ने गाउँ हो । यहाँ उत्पादित बस्तु बुटबल बजार सम्म पुग्यो । यहाँ एउटा बोट बाट ५० केजी सम्म उत्पादन हुन्छ । यही तरुल बेचेर वर्ष दिनको लागि दाल, चामल चिनी चियापत्ती सबै किन्ने हो । जव वनमा वन्यजन्तुको राजै चल्यो तव खेती मात्र होइन बस्ती नै हरायो । बारीको आलु, तरुल, पिडालु, सखरखण्ड सबै हराउँदै गयो । पहिला उत्पादन गरेर खानेहरु आजभोलि किनेर खान थालेको स्थानीय शेरबहादुर राना बताउँछन् ।
पुर्वखोला गाउँपालिकाको सिलुवाका मानबहादुर वयम्वु पनि पुराना तथा अगुवा कृषक हुन् । गत वर्ष ४ क्विन्टल तरुल बिक्री गरेकोमा यस वर्ष १ क्विन्टल मात्र भयो । कम मेहनत र कमै लगानीमा हुने भएका कारण यो खेती राम्रोसंग फस्टाउने थियो । यहाँबाट औद्योगिक कच्चा पदार्थको रुपमा भारतीय बजारमा पनि निर्यात हुन्थ्यो । बस्ती बस्तीमा भारतीय व्यापारी आउन लागेपछि यसले सफलता पाएको थियो । यहाँ उत्पादित तरुल भारतीय बजारमा जान छाडेपछि बुटवल, आरुणखोला, पोखरा, काठमाडौं सम्म पुग्यो । तरुल बिक्री भनेको यस वर्ष एकादेशको कथा जस्तै भएको उनी बताउँछन् ।
यहाँ ४ प्रकारका तरुल, सखरखण्ड, पिडालुको राम्रो खेती हुने जिल्ला हो । यसलाई किसानले आम्दानीको बलियो माध्यम बनाउन सक्ने प्रयाप्त आधार थिए । तर पछिल्ला वर्षहरुमा वन्यजन्तुका कारण खेती मात्र होइन बस्ती नै हराउँदै गएका कारण सबै बाटाहरु बन्द भएको कृषि प्राविधिकहरु बताउँछन् ।
माथागढी गाउँपालिकाको गोठादीका शेरबहादुर दर्लामीले यसपटक राम्रो मूल्यमा ठुलो र सेतो प्रजातीको तरुल बिक्री गरेको बताउँछन् । यसपटक ४० हजार रुपैयाँ हात प¥यो ।