© २०२३
बुटवल, २९ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ मा अभिषेक चर्च एफसी, रजहर विजयी हुदै फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमीफाईनल खेलमा गोर्खा ब्यायज एफसी बुटवललाई ३–२ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च फाईनलमा प्रवेश गरेको हो । बुधबार उपाधिका लागि अभिषेक चर्चले आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकरसंग फाईनल खेल्ने छ ।
फर्साटिकर खेलमैदानको भएको दोस्रो सेमिफाईनल खेलको १५ औ मिनेटमा गोर्खा ब्यायजका सृजन गौतमले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए । तर त्यो धेरै बेर टिक्न सकेन । खेलको १८ औ मिनेटमा अभिषेकका सुमित श्रेष्ठले बराबरी गोल गरे । सुमितले नै खेलको ३४ औ मिनेटमा अर्को गोल थप्दै खेलमा अग्रता दिलाए । दोस्रो हाफमा अरोन थापाले अभिषेकका लागि विजयी गोल गरे । खेलमा गोर्खा ब्यायजका सृजनले दोस्रो गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।
खेलमा अभिषेक चर्चका सुमित श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए ।