© २०२३
काठमाडौं ।
युक्रेनी राष्ट्रपति भ्ल्यादिमिर जेलेन्स्कीले युक्रेनी सेनाले बन्दी बनाएका दुई उत्तर कोरियाली सैनिकलाई रिहा गर्न शर्तसहित तयार रहेको प्रस्ताव पेस गरेका छन्।
उनका अनुसार, उत्तर कोरियाका नेता किम जोंङ उनले रूसमा रहेका युक्रेनी सैनिकहरूको रिहाइ सुनिश्चित गरेमा रुसको कुर्स्क क्षेत्रबाट बन्दी बनाइएका उत्तर कोरियाली सेनालाई रिहा गर्न तयार छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत शनिबार रुसको कुर्स्क सीमा क्षेत्रमा रुसी सेनासँग लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए।
जेलेन्स्कीका अनुसार, दुवै बन्दीलाई आवश्यक चिकित्सकीय सहायता प्रदान गरिएको छ र उनीहरू युक्रेनको गुप्तचर सेवा (एसबीयू) को नियन्त्रणमा छन्। एसबीयूले ती दुवै सैनिकलाई ९ जनवरीमा समातेको र उनीहरूलाई जेनेभा सन्धिअनुसार आवश्यक सबै चिकित्सकीय सेवा उपलब्ध गराइरहेको जनाएको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उक्त सैनिकको आदानप्रदानमार्फत युक्रेनी सैनिकहरूको रिहाइको सम्भावनालाई प्रकट गरेका छन्। साथै, उनले युक्रेनी सेनाले अन्य उत्तर कोरियाली सैनिकलाई पनि कब्जामा लिएको हुन सक्ने बताएका छन्।
रूससँग युक्रेनको युद्धमा उत्तर कोरियाका ११ हजार सैनिकको सहयोग रहेको आरोप युक्रेन र दक्षिण कोरियाले लगाउँदै आएका छन्, तर रूसले यसलाई अस्विकार गरेको छैन।