Butwal Today

धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने

१ माघ २०८१, मंगलवार
अ+
अ-

मुम्बई, १ माघ ।

बलिउड स्टार रणवीर कपूर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन्।

यस वर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाई देखिने पक्का जस्तै छ।

अभिनेता कपूर हाल संजय लीला भंसालीको ‘लव एण्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिङमा व्यस्त रहेका छन्। दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।

यसै बीच, यशराज फिल्म्सको बहुप्रतिक्षित धूमः४ मा रणवीर कपूर अनुबन्धित भएका छन्। जुन फिल्म एक दशकभन्दा बढी अगाडि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन। तर, अहिले यशराज फिल्म्सले धूमः४ का लागि प्रक्रिया सुरू गरेको छ, जो अर्को वर्षदेखि सुटिङ सुरू हुनेछ।

इन्डिया टुडेका अनुसार धूमः४ अब एप्रिल २०२६ देखि छायांकनमा जानेछ। सो कम्पनीले सो फिल्मका लागि २ जना नायिकाहरू र एक भिलेन खोजिरहेको छ। समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाई लिइने भएको छ। जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ।

रणवीरले धूमः४ सुरु गर्नुअघि ‘लव एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने धूमः४ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ। चाखलाग्दो कुरा के छ भने धूमः४ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भूमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको धूमः४ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ।

समाचार अनुसार धूमः४ पछि अभिनेता कपूरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगा संग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुँदैछ।