© २०२३
भैरहवा, २० कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो । ‘विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ’–रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।
बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने , सिमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको अर्यालले बताए । वैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरु सहभागी थिए ।