© २०२३
सल्यान, १७ कार्तिक । सल्यानका एक सय १७ मतदान स्थलहरु मध्ये ६३ मतदानस्थल अति संवेदनशिल मानिएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार ६३ मतदानस्थल अति संवेदनशिल सुचीमा छन् । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार ३८ मतदानस्थललाई संवेदनशिल मानिएको छ । जिल्लाका १६ मतदानस्थल मात्रै सुरक्षा संवेदनशिलताका लागि सामान्य छन् ।
यहाँ एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्रहरु रहेका छन् । एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रदेशसभाका लागि भने दुई क्षेत्र छन् । प्रदेशसभा क निर्वाचन क्षेत्रमा मा ७८ हजार ६६८ र ख निर्वाचन क्षेत्रमा ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर पुरुष मतदाता ८० हजार २१२ र महिला मतदाता ७७ हजार ४८९ गरेर जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका छन् ।प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाभर एक हजार २१३ म्यादी प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालयका प्रवक्ता सन्तोष खनालका अनुसार निर्वाचनका लागि ७४३ जना प्रहरी कर्मचारी खटिने छन् । जिल्लामा निर्वाचन सुरक्षा प्रभावकारी बनाइने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताएका छन् । जिल्लाका विभिन्न मतदानस्थल र निर्वाचन सुरक्षा अवस्थाका बारेमा निरन्तर अनुगमन पनि भइरहेको छ ।