© २०२३
कपिलवस्तु, ०५ मंसिर ।
बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाउन कपिलवस्तु जिल्लाभर मुआक परिक्षण शूरु गरिएको छ । जिल्लाभरका सबै १० स्थानिय तहमा ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाको पाखुराको बिच भागको परिधी नाप (मुआक) लिन शुरु गरिएको हो । कालिका स्वाबलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको पोषण मार्फत जिवन रूपान्तरण परियोजनाबाट मुआक लिने कार्य यशोधरा गाउँपालिका वडा नम्बर १ तिर्तिखाबाट शूरु भएको हो ।
तिर्तिखामा बालबालिकाको पाखुराको बिच भागको परिधी नाप लिएर कार्यक्रम उदघाटन गरिएको छ । हेलन केयर, भिटामिन एन्जेल र आईडिई नामक दातृ निकायको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत मुआक लिनका लागि जिल्लाभरका ९६ वटै वडामा रहेका १ हजार १ सय ७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत मुआक लिईने योजना रहेको कालिकाका कोषाध्यक्ष तथा पोषण फोकलपर्सन प्रबिण कुमार श्रीवास्तवले जानकारी दिए । कपिलवस्तु जिल्ला सहित लुम्बिनी प्रदेशमा १६ दशमलव २ प्रतिशतमा कुपोषण भएको तथ्यांक छ ।
यसलाई आधार बनाएर बालबालिकामा कुपोषण न्यूनीकरण गर्न र पोषण सुधार गर्न कार्यक्रम अन्र्तगत मुआक लिन थालिएको श्रीवास्तवले स्पष्ट पारे । कुपोषण ४ प्रतिशत भन्दा कम कुनु पर्नेमा प्रदेशमा १६ प्रतिशत बढि कुपोषण हुनु गम्भिर बिषय भएकाले पोषण सुधारका लागि कार्यक्रम सहयोगी हुने उनले बताए ।
पाखुराको मुआक लिदा ५ दशमलब ५ सेन्टिमिटर देखी ११ दशमलब ५ सेन्टिमिटर सम्मका लाई रातो चिन्ह अर्थात कडा शिध्र कुपोषण, ११ दशमलब ५ देखी १२ दशमलब ५ सेन्टिमिटरलाई पहेलो अर्थात मध्यम शिध्र कुपोषण भन्ने गरिएको छ । त्यसै गरि १२ दशमलब ५ सेन्टिमिटर भन्दा बढिलाई भने सामान्य अवस्थाको मानिन्छ । कुपोषित भेटिएका बालबालिका मध्य कडा शिघ्र कुपोषित बच्चालाई तयार पारिएको उपचारात्मक खाना (आरयुटिएफ) दिईने र मध्यम शिध्र कुपोषितका हकमा पोषणयुक्त खाजा सुपर सिरियल दिँदै आएको तितिर्खी स्वास्थ्य चौकीकी ईन्चार्ज माया कार्कीले जानकारी दिईन । पोषणयुक्त खाजा सुपर सिरियल परियोजनाको दातृनिकाय हेलन केयरले उपलब्ध गराउँदै आएको जनाईएको छ । बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाउने तिन उपाय रहेको छन । जसमा पहिलोमा पाखुराको नाप लिने (मुआक), दोस्रोमा उचाई अनुसारको तौल हेर्ने र तेस्रोमा दुबै खुट्टा सुन्निएको वा नसुन्निएको आधारमा कुपोषण पत्ता लगाउने गरिएको छ । यसरी कुपोषण पत्ता लागेका बालबालिकालाई उपचारका लागि बहिरंग सेवा (ओ टी सी सेन्टर) मा पठाउने गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिकाको तिर्तिखी, बैदौली, पर्शोहिया र सोमडिह स्वास्थ्य चौकीमा ओसिटी सेन्टर रहेका छन । जिल्ला भरीमा रहेका ८९ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू मध्ये ४४ वटा स्वास्थ्य संस्थााहरूमा पोषण उपचारका लागि बहिरंग सेवा (ओ टी सी सेन्टर) रहेका छन् । कडा शिघ्र कुपोषण पाईएका वालवालीकाहरूलाई उक्त ओटीसी सेन्टरले विशेष उपचार सेवा प्रदान गर्ने गरेको छ । ओसिटी सेन्टरमा उपचार हुन नसकेका बालबालिकालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा रिफर गर्ने गरिएको छ ।
नेपाल सरकारको एकिकृत स्वास्थ्य सुचना व्यवस्थापन प्रणालीको तथ्याङ्कले कपिलवस्तु जिल्लामा ६ महिना देखी ५९ महिना उमेर समुहका ४७ हजार ५ सय ८५ जना बालबालिका रहेको देखाएको छ । परियोजनाबाट पहिलो चरणमा घरदैलो गरि सचेतना प्रवाह गर्दै ति सबै बालबालिकाको मुआक लिने कार्य गरिने छ । मुआक परीक्षण पछि पोषणको अवस्था सुधार गर्नका लागि योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरकी प्रतिनिधि सुस्मिता शर्माले बताईन । परियोजनाको ५ बर्षको अवधिमा जिल्लाका १० वटै पालिकाका सबै वडामा रहेका लक्षित उमेर समुहका बालबालिकाको मुआक लिने र पोषणको अवस्था सुधार गर्न कार्य गरिने परियोजनाकी संयोजक कमला शुक्लाले जानकारी दिईन ।
कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, पालिकास्तरको स्वास्थ्य संरचना र जिल्लास्तरका सरोकारवाला सँग समन्वय गरेर पोषणको अवस्था पत्ता लगाई सो अवस्था सुधार्न भूमिका खेलिने कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष मंदिप सिंहले बताए । बिगतमा बहुक्षेत्रिय पोषणको कार्यक्रम सञ्चालनमा रहे पनि कपिलवस्तु जिल्लाको पोषणको अवस्था अझै पनि चिन्ता गर्नुपर्ने अवस्थामा रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले बताए । पोषणको अवस्था सुधार गर्न पोषणयुक्त खान र खुवाउन सिकाउनु पर्ने उनले सुझाव दिए । खानपान सुधारले नै पोषणको अवस्थामा सुधार आउने गैससं महासंघ जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय बताउँछन् ।
जिल्लाबाट खाद्यान्न निर्यात हुने भए पनि पोषणयुक्त खानपानमा ध्यान नजानु गम्भीर बिषय भएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । पोषणको अवस्था सुधार्न बालबिवाह नगर्ने, गर्भावस्थामा पोषणमा ध्यान दिने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, हरियो तरकारी, दुधदही, मासुजन्य पदार्थ, सागसब्जी खान आवश्यक रहेको उनले सुझाव दिए । मुआक परिक्षण पछि जिल्लाको पोषणको अवस्था पत्ता लाग्ने र आगामी योजना निर्माणमा दिशानिर्देश प्राप्त हुने आचार्यले बताए । पोषणयुक्त खानाको अभाव, डाईफुडको सेवनका कारण बालबालिकामा कुपोषण र रक्तअल्पत्ता लगायतका समस्या देखिने गरेका छन् ।