© २०२३
प्यूठान, ०५ मंसिर ।
प्यूठान उपत्यकाको बजार क्षेत्रलाई खानेपानीको प्यास मेटाउने उद्देश्यले करोडौं लागतमा निर्माण गरिएको बृहत बिजुवार खानेपानी आयोजनाले स्थानीयको प्यास मेटाउन सकेको छैन । एसियाली विकास बैंक, नेपाल सरकार साना शहरी खानेपानी आयोजना र स्थानीय उपभोक्ताको ८ करोड भन्दा बढिको लागतमा २०५८ सालमा आयोजना निर्माण भएको थियो । त्यसयता आयोजनामा पटक–पटक मर्मत, संपायल निर्माण शिर्षकमा करोडौ रूपैयाँ लगानी भैरहेको छ । धेरै लगानीमा निर्माण गरिएको योजनाको धारामा धमिलो पानी आउने, गर्मीको समयमा पानी सुक्ने, यन्त्र उपकरणहरू समय–समयमा बिग्रने, चर्को विद्युत महशुल लगायतका समस्या झेल्दै आएको छ ।
प्यूठान नगरपालिका १ क्वाडी, २ चितिखोला, ३ विजयनगर, ४ विजुवार, ७ पुण्यखोला र ८ बाग्दुला, दम्ती क्षेत्रका स्थानीयले आयोजनाको पानी उपभोग गर्दै आएको बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बिजुवारका कार्यालय प्रमुख सरद सुवेदीले जानकारी दिए । १ हजार ९ सय ८४ घर धुरी उपभोक्ता रहेको आयोजना सहज तरिकाले सञ्चालन नहुँदा स्थानीयले खानेपानीको सम्मस्या झेल्दै आएका छन् । सुरुमा १ हजार ४ सय घरधुरीलाई लक्षित गरि नौबहिनी गाउँपालिकाको बल्लेखोलाबाट पानी ल्याउने भनिएको थियो । त्यस बेला वजेट अभाव भएपछि लिफ्ट मार्फत पानी तानेर आयोजना निर्माण गरियो । प्यूठान नगरपालिकाको गेजवाङमा २ वटा, बाग्दुला, टिकुरी, भौका र दाखाक्वाडीमा एक÷एक वटा गरी ६ वटा सम्वायल (मोटर ट्याङ्कि) बाट लिफ्ट मार्फत पानी तानी तानेर वितरण गर्दै आइएको छ । उपभोक्तालाई दैनिक ८ लाख लिटरसम्म पानी आवश्यक पर्ने भएपनि गर्मी महिनामा ५ लाख ५० हजार लिटर मात्रै पूर्ति हुने भएपछि उपभोक्तालाई आवश्यक पानी पु¥याउन समस्या भएको प्रमुख सुबेदीले बताए । बृहतले वितरण गरेको पानी समेत शुद्ध नहुने उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।
कहिले काहीँ आउने पानी धमिलो, स्याउली लागेको आउने भएपछि शुद्ध पानीको लागि १५ मिनेट लगाएर पानीको लागि अन्यत्र जोहो गर्न जान परेको प्यूठान नगरपालिका–२, क्वाडीका डोरप्रसाद गौतमले बताए । ‘पानीमा देखिएको धमिलोपनाले गर्दा कुवाकै पानी ठिक होकी भन्ने लाग्दछ’ गौतमले भने, ‘लिफ्टको विकल्प वा पानीको शुद्धिकरण वृहत्ले खोज्नु पर्दछ ।’
प्रदेश सरकारले सन् २०८० सम्म एक घर एक धारा नीति लिएको छ । तर, प्यूठानको वजार क्षेत्रमा मासिक शुल्क तिरेर समेत स्थानीयले शुद्ध खानेपानी खान नपाएको प्यूठान नगरपालिका ३ का खिमबहादुर कार्की दुःखेसो पोखे ।
बजार क्षेत्रमा खानेपानीको समस्या हटाउन बृहत् खानेपानीले पहल गरिरहेको वृहत बिजुवार साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष जानका के.सी.ले बताइन । केसीले वजार क्षेत्रलाई सहज खानेपानी वितरणका लागि बृहतले नौबहिनी गाउँपालिका–५ डामृ स्थित (विजासरे) मुल दर्ता गरेर योजना निर्माणको लागि पहल थालेको बताइन् । ‘लिफ्टको विकल्प नखोजे बजार क्षेत्रमा खानेपानीको दिगो व्यबस्थापन गर्न सकिदैन,’ अध्यक्ष केसीले भनिन्,‘त्यसैले डाम्री खोलाको मुलको लागि पहल थालेका हौं ।’ यसको लागि सबै सरोकारवाला निकायको ध्यान पुग्न आवश्यक रहेको केसीले केसी बताउँछीन् । डिपिआर तयार भइ खानेपानी विभागमा पेश थप सुझाब आएको संस्थाले जनाएको छ । डिपिआर अनुसार नौबहिनी ५ को डाम्रीदेखी प्यूठान नगरपालिका ८ को दम्तीसम्म ३६ किलोमिटरको प्रारम्भीक दुरी देखिएको छ । योजना निर्माण गर्न २५ करोड बढी लागत लाग्ने अनुमान गरिएको छ ।