© २०२३
प्यूठान, ०१ मंसिर ।
प्यूठानमा यातायात व्यवसायीको प्रतिष्पर्धाले दर्जनौ नयाँ एसी बसहरू थपीएका छन् । यसले गर्दा सेवा ग्राहीलाई यात्रा गर्न सहज भएको छ । पछिल्लो सात महिनाको अवधिमा प्यूठानमा एक दर्जन बढी स्तरीय बस भित्रिएका छन् । दुई यातायात ब्यवसायी कम्पनी बिचको प्रतिष्पर्धाले जिल्लामा धमाधम नयाँ गाडि भित्राएका हुन् ।
प्यूठानका दुई प्रालीले ७ महिनाको अवधिमा ११ करोड ५० लाखको १२ वटा एसि सुपर डिलक्स बसहरू भित्राएका छन् । स्वर्गद्वारी गौंमुखी प्रा ली ले ९५ लाख पर्ने ७ वटा र नमस्ते प्यूठान प्रालीले ९७ लाख पर्ने ५ वटा नयाँ सुपर डिलक्स बस भित्र्याएका छन् । यातायात व्यवसायीहरूको प्रतिष्पर्धाले विशेष गरेर काठमाडौं जाने-आउने यात्रुलाई सहज भएको सेवाग्राहीहरू बताउँछन् ।
दुई वटा यातायात ब्यवसायिको प्रतिष्पर्धा बढेसंगै यातायात सेवाको गुणस्तर बढेको झिमरुक गाउँपालिका १ बाँदिकोटका बिमल पोख्रेलले बताए । ‘एसी र सोफा सीट । बसमा ३ कर्मचारी । कर्मचारीलाई अझै तालिम दिनुपर्ने देखिए पनि राम्रो व्यवहार भयो,’ पोख्रेलले भने, ‘बसमा सबै यात्रुलाई पानी, बिस्कुट र फ्रुटी दिइन्छ । तिहारको भिडमा पनि क्षमता भन्दा धेरै यात्रु खनिए पनि सेवा राम्र्र्र्रै दिएका छन् ।’
२०६० मा सघसंस्था दर्ता ऐनअन्र्तगत दर्ता भएको स्वर्गद्वारी सार्वजनिक यातायात अहिले स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. नामबाट सञ्चालित छ । २०७३ मा सरकारले यातायातको सिण्डिकेट खारेज गरेसंगै नमस्ते प्यूठान यातायात प्रा.लि. सञ्चालनमा आएको थियो । कोरोना संक्रमणपछि दुबै कम्पनीले आपसी सहकार्यमा पुराना बसहरूबाट सेवा प्रबाह गर्दै आएका थिए ।
गतवर्ष आपसी विवादका कारण दुई कम्पनिको सम्झौता भंग भएपछि अलग-अलग सेवा दिन थाले । त्यस यता जिल्लामा सुविधायुक्त सुपर एसि डिलक्स बसहरू भित्रिन थालेका हुन् । यात्रुको सुविधाको लागि सुपर एसी डिलक्स बसहरू भित्र्याइएको नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.का कार्यालय प्रमुख दिल बहादुर दसौदीले बताए । ‘नेपालमा लन्च भएका स्तरीय अन्य गाडीहरू पनि हेरी रहेका छौं’ दसौदीले भने । नमस्ते सेवा प्रा लीको प्यूठानबाट काठमाडौंका लागि दैनिक १ डिलक्स अर्को सुपर डिलक्स गाडी छुट्ने गरेको छ । स्वर्गद्वारीको २ वट डिलक्स १ वटा सुपर डिलक्स बस छुट्ने गरेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठ बताए ।