© २०२३
काठमाडौँ —
नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो ।
भारतले स्वीकृति दिइसकेकाले शुक्रबार दिउँसो १२.४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘यस वर्षका लागि शुक्रबार एक दिन मात्र बिजुली बेच्छौं, राति १२ बजेसम्म मात्र बेच्ने हो,’ उनले भने । शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्नेछ । भारतबाट स्वीकृति आएसँगै शुक्रबारदेखि बंगलादेशलाई बिजुली बिक्री गर्न लागिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न भारतले सहमति दिएको उनको भनाइ छ ।
बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने घोषले बताए । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको भनाइ छ ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । सोहीअनुसार नेपालले यस वर्ष शुक्रबार मात्र बंगलादेशलाई बिजुली बेच्ने छ । त्यसपछि बिजुली बेच्न अर्को वर्ष कुर्नुपर्नेछ ।
६ वर्षको गृहकार्यपछि नेपाल र बंगलादेशबीच विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयनमा आएको हो । गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतले स्वीकृति दिएको थिएन ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।
भारतको बजारमा बिजुली बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ । भारतमा बिक्री गर्न स्वीकृति पाइसकेका यी आयोजनाको बिजुली बंगलादेशमा निर्यात गर्न नेपालले फेरि भारतसँग स्वीकृति लिनुपर्ने थियो । स्वीकृति पाइसकेकाले बिजुली बिक्री हुन लागेको हो । भारतले स्वीकृित दिएसँगै बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको हो ।
नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मै कारोबार हुँदै आएको छ । बंगलादेशलाई बिजुली बिक्री हुँदा मुलुकलाई प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको प्रक्षेपण छ ।
बंगलादेशको सीमासम्म पुग्दा विद्युत्को मूल्य प्रतियुनिट करिब ७.६ सेन्ट पुग्नेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)– भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । बंगलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।