© २०२३
‘भविष्यको पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ भन्ने नाराका साथ ११ औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस नेपालमा वुधवार मनाईएको छ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस विश्वभर विगत ११ बर्षदेखि मनाईदै आएको छ । हिउँ चितुवा दिवस मनाईरहँदा विश्वबाटै हिउँ चितुवा लोप हुँदै गएका छन । हिउँ चितुवा विश्वका १२ देशमा मात्र पाइन्छ । त्यही पनि यो बर्षेनी लोप हुँदै गएको छ । हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक हो तर पछिल्लोसमय हिमालमा हिउँ पग्लिनेक्रम बढ्दै जान थालेपछि यसको बासस्थानमै संकट उत्पन्न हुँदै गएको छ । जलबायु परिवर्तनका कारण हिमाल पग्लिदै उजाड बन्दै जान थालेपछि हिउँ चितुवाको बासस्थान लोप हुँदै गएको अवस्था छ । त्यसो त यो दिवसको बिषयमा आम नेपाली जनतासमक्ष जानकारी नै पुगेको छैन । त्यही पनि वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी औपचारिकताको लागि भएपनि मनाउँदैछ । दिवसको अवसरमा सरकारले कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र) को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकार्पण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने भएको छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । तर, नेपालसंगै ती देशबाट पनि हिउँ चितुवा लोप हुँदै जान थालेपछि वातावरणविदहरूले चिन्ता प्रकट गरेका छन ।
वातावरण विनास, विश्वव्यापी कार्बन उत्सर्जन, तीब्र औद्योगिकरण लगायतका कारण उत्पन्न जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको छ । जसको फलस्वरूप हिमाल पग्लिनेक्रम बढेको छ भने हिमाली क्षेत्रमा पाईने जीवजन्तु लोप हुनेक्रम बढेको छ । जसको फलस्वरूप हिमालका लागि पहिचान वनेको हिउँ चितुवाको बासस्थानमा ह्रास आएको छ ।
अध्ययनका अनुसार हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको छ । उक्त बासस्थान क्षेत्र खण्डिकरण हुँदै गएको छ । पछिल्लोसमय हिमाली क्षेत्रमा विषादीको मात्रा बढाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्दा हिउँ जनावरहरू लोपोन्मुख हुँदै गएका छन । यो चुनौतिको बिषय हो । संरक्षणविदहरूले हिउँ चितुवा संरक्षणका लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याएका छन । यसमा सरकारको प्रयास र तत्परता महत्वपूर्ण हुन्छ । स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन बेला बेलामा सर्वेक्षण गर्नेतर्फ तीनै तहका सरकारले ध्यान दिनु जरुरी छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । अतः अवको दिनमा हिउँ चितुवा संरक्षणमा सरकारको मात्रै होइन वातावरण संरक्षणप्रति चिन्ता र चासो राख्नेहरूको ध्यान जानु जरुरी छ ।
नेपालबाट हरेक बर्ष हिउँ चितुवाको संख्या मासिदै गएको छ । पहिले पाँचसयको हाराहारीमा रहेको हिउँ चितुवा अहिले दुईसयभित्रै सीमित भएको छ । संरक्षणविदहरू उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हिउँ चितुवालाई मान्दै आएका छन् । अवको दिनमा हिउँ चितुवाजस्तो लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखन नियन्त्रण गर्नेतर्फ सवैले ध्यान दिनु जरुरी छ । हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्नेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ ।