© २०२३
नयाँ सरकार गठन भएको तीन महिनाको अवधीमा राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बृद्धि भएको समाचारले केही आशाको सञ्चार गरेको छ । रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ । अर्थतन्त्रमा चुनौती रहेपनि यी समाचारले मुलुकको अर्थतन्त्र अझै विग्रिसकेको छैन भन्ने संकेत गर्छन । नीजि क्षेत्रले समेत पहिलेको तुलनामा सुधार आइरहेकोले आत्मविश्वास बढेको महसुस गरेको छ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको सरकारको दावी छ । समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ भइसकेकोले सरकारले अर्थतन्त्रलाई गतिशील बनाउने गरि काम अघि बढाएको हो कि भन्ने आशा पलाएको छ ।
सरकारका तर्फबाट प्रस्तुत आर्थिक दृष्यले आशाको किरण छर्ने प्रयास गरेपनि तर गाउँघर सहर बजारमा देखिएको सन्नाटाले आर्थिक अवस्थामा अझै सुधार आउन नसकेको छनक दिन्छ । यो बर्षको बडादशैं सकिएको छ । बडादशैं सकिएसंगै दिपावलीको रौनक सुरु हुने बेला आएको छ । तर, गाउँघरमा रौनक आउन सकेको छैन । देश परदेशबाट दशैं मान्न स्वदेश फर्किएकाहरूले बजारमा चहलपहल बढाउनुपर्ने हो तर यो बर्ष विगतको बर्षहरूमा जस्तो उल्लास छैन । सवैतिर उही निरासा छ । विदेशबाट फर्किएकाहरू पनि आर्थिक अभाव र तनावकै कुरा गर्छन । सायद महंगी बढेकोले हुनसक्छ बजारमा खरिददारीको रौनक पनि छैन् । दिपावलीको पूर्व सन्ध्यामा बजार उल्लासमय छैन । सरकारले सकारात्मक रिपोर्ट प्रस्तुत गरेपनि देश आर्थिक हिसावले जर्जर रहेको महसुस भैरहेको छ ।
२०४६ सालको जनआन्दोलन पश्चात् नेपालमा स्थापित बहुदलीय शासन व्यवस्थाले ठूलो आर्थिक क्रान्ति ल्याउने सपना बुनिएको थियो । देशमा आर्थिक पुनर्जागरणको युग सुरु भएको हो कि भन्ने भान परेको थियो तर ती सवै रसातलमा बिलीन भए । छिटो छिटो परिवर्तन भैरहने सत्ता र त्यसले सिर्जना गरेको राजनीतिक अस्थिरताका कारण देश दिशाविहीन बन्न पुगेको छ । जसले मुलुकको समग्र विकास प्रक्रिया तथा सेवा प्रवाहलाई जनमुखी, मितव्ययी र प्रभावकारी बनाउने विषयमा चुनौती थपेको छ । आखिर किन नेपालमा यस प्रकारको बिसंगति उत्पन्न भैरहेको छ ? सोचनीय बिषय छ । सत्ता र शक्तिका लागि मुलुकलाई अस्थिरतामा धकेलिरहने हाम्रो वर्षौंदेखिको राजनीतिक परम्पराले नागरिकको राजनीतिप्रतिको विश्वास टुटाउँदै लगेको छ ।
मुलुकप्रतिको निष्ठा र नैतिकतालाई ओझेलमा राखेर गरिने यस प्रकारका क्रियाकलापले मुलुक उन्नतीको शिखर चढ्न सक्दैन । जसका कारण मुलुकमा सांस्कृतिक बिचलनको अवस्था आउने गरेको अहिलेको दशैँको अवस्थाले चरितार्थ गरिदिएको छ । राजनीतिलाई आर्थिक या अन्य कुनै फाइदा आर्जन गर्ने व्यवसाय हैन, समाजसेवामा समर्पित हुने अभियानका रूपमा जबसम्म बुझ्न र लिन सक्दैनौँ तबसम्म सत्ता र शक्ति वरिपरि राजनीति घुमिरहने निश्चित छ । त्यसैले नेताहरूले पनि अव आफैबाट परिवर्तन सुरु गर्नु जरुरी छ । जनतामा ब्याप्त निरासा र कुण्ठाको अन्त्यका लागि अवको भरमग्दुर प्रयास बाञ्छनीय छ । तसर्थ सन्निकट रहेको दिपावलीलाई उज्यालो दिपावली बनाउनेतर्फ हामी सवैको प्रयास जरुरी छ । प्राकृतिक विपत्तीका कारण पनि यो दशैंमा उत्साह आउन सकेन् । तसर्थ दिपावलीलाई उल्लासमय बनाएर रौनक सिर्जना गर्ने वातावरणको तयारीमा लागौं । अव आर्थिक चहलपहल बढ्ने आशा गरिएकोले चाडपर्वलाई पनि रौनकमय वनाउने प्रयास गरौं ।