© २०२३
प्यूठान, १ कात्तिक ।
प्यूठानमा कार दुर्घटना हुँदा ४ जना भारतीय पर्यटक घाइते भएका छन् । बुधबार दिउँसो साढे १ धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर यूपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिंगृका प्रमुख प्रहरी निरीक्षक नविन कुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार कार सडकबाट बिस मिटर तल जङ्गलमा खसेको हो ।
कारमा चालक सहित पाँच जना सवार रहेका थिए । ती मध्ये चार जना घाइते भएका हुन् । घाइतेहरुमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का विरेन्द्र पाण्डेय, वर्ष ४३ को सुभद्धा पाण्डेयको टाउकोमा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरको भित्री भागमा चोट लागेको छ । त्यस्तै वर्ष ५५ की शिला पाण्डेको भित्री भागमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेख कुमार पाण्डेय सामान्य भएको समेत थापाले जानकारी दिए ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । उनीहरुलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेको समेत प्रहरीले जनाएको छ ।