© २०२३
नवलपुर, २९ असोज ।
पुर्वी नवलपरासीमा वर्सेनि सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी १३२ जना यात्रुले ज्यान गुमाएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वमा गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै ४३ जना यात्रुले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा २९ जनाले ज्यान गुमाएका थिए । नवलपुरमा आर्थिक वर्ष २०८०÷०८१ मा ३२८ ओटा दुर्घटना भएको थियो भने ४९० जना घाइते भएका थिए । जसमा ३७ जना पुरुष र ६ जना महिला गरी ४३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले जानकारी दिएका छन् । गत आर्थिक वर्ष ४१ वटा सवारी ज्यान मुद्दा दर्ता गरिएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा २१ पुरुष र ८ जना महिलासहित २९ जनाले ज्यान गुमाएका थिए भने ५५७ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा २६ वटा सवारी ज्यान मुद्दा दर्ता गरिएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा २९९ ओटा सवारी दुर्घटनामा परेका थिए भने ५६ पुरुष र ४ महिला गरी ६० जनाको मृत्यु भएको थियो । ०७८÷०७९ मा ३२८ जना घाइते भएका थिए ।
यस्तै चालु आर्थिक वर्षको असोज २७ गतेसम्ममा नवलपुरमा ८० ओटा सवारी दुर्घटनामा परेका छन् । यस वर्ष हालसम्म दुर्घटनाका कारण कसैको पनि ज्यान नगएको पनि शाहले जानकारी दिए । यस आर्थिक वर्षमा १०१ पुरुष र ४१ महिला गरी १४२ जना घाइते भएका छन् भने ७ ओटा सवारीलाई ज्यान मुद्दा दर्ता गरिएको छ ।
गत ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ । गत ३ वर्षको तथ्यांक अनुसार ८४.२१ प्रतिशत पुरुषको मृत्यु भएको छ भने १५.७९ प्रतिशत महिलाको मृत्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेको छ । बर्सेनि दुर्घटना बढ्दै जाँदा घाइते र अपाङ्गता हुने यात्रुको सङ्ख्या पनि बढेको शाहले बताए ।
सवारी दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरबाही देखिएको छ । चालकले लापरबाही गर्दा नै बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताएका छन । साथै नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्यले गति लिन नसक्दा पनि दुर्घटना बढेको शाहले बताए । चालकले मादक पदार्थ सेवन गरेर सवारी हाक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, समय–समयमा सवारीसाधनको चेकजाँच नगर्ने जस्ता कारणले दुर्घटना बढेको उनले बताए ।
यस्तै प्राविधिक रुपमा उपयुक्त नभएका सडकमा सवारी गुडाउँदा दुर्घटना हुने गरेको छ । सवारी साधनको क्षमता नहेरी उकालो, भिरालोमा सवारी चलाउँदा, नयाँ चालकलाई बाटोको बारेमा जानकारी नहुँदा, अप्ठेरो मोडमा सवारीसाधन जबर्जस्ती हाक्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समयमा व्यक्तिगत सवारी साधनको सङ्ख्या बढ्दा पनि दुर्घटनाको सङ्ख्या बढेको छ ।
अहिले व्यक्तिगत सवारी साधन बढेका कारण मोटरसाइकल, कार, जिप जस्ता सवारी साधनको दुर्घटना बढेको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले निरन्तर गस्ती, चेकजाँच, चालकलाई प्रशिक्षण सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक जेशी शाहले जानकारी दिएका छन । यद्यपि प्रहरीको सङ्ख्या कम भएकाले पनि सबै स्थानमा पहुँच पुरÞ्याउन समस्या रहेको उनको भनाई छ । दुर्घटना न्युनीकरण गर्न प्रहरीले लापरबाही गर्ने चालकमाथि सवारी ज्यान मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जनाएको छ ।