© २०२३
अहिले दाङका खोलाहरूमा आएको बाढिले सवारी साधन र यात्रुहरू अलपत्र परिरहेको दृष्य दिनहुँजसो देख्न पाइन्छ । लमहीदेखि तुलसीपुर सम्मको ४६ किलोमिटरको दुरीमा रहेका १० वटा खोलाहरूमा पुल नहुँदा बर्षाद्को समयमा उनीहरू अलपत्र पर्ने गरेका हुन् । दिनहुँजसो खोलामा आउने बाढिका कारण यातायातका साधनहरू खोला पार गर्न नसक्दा यात्रारत यात्रुहरू खोलाको बाढि कम हुने समय पर्खदै बस्न बाध्य हुन्छन् । मोटरसाईकल चालकहरू खोलाको बाढी पार गर्न कसैलाई एक सय रूपैयाँ दिएर एउटा खोला तार्छन् भने कसैले खोला छेउमा रहेका घरमा छोडेर हिँड्नुपर्ने बाध्यता छ । साना सवारीका साधनहरूलाई बर्षाद्को समयमा चलाउँदा ठूलै मूल्य चुकाउनु परिरहेको छ ।
यस वर्ष बाढीले सवारी साधनहरू बगाउँदा मानवीय क्षति नभएपनि धनजनको क्षति भने पक्कै भएको छ । कसैका सवारीका साधनमा पानी पस्दा ईन्जन नै सीज भएको पनि सुन्न पाइन्छ भने कसैले घोराही तुलसीपुर सम्मको २३ किलोमिटरको दुरीमा रहेको ५० रूपैयाँ भाडादरमा ठूला सवारी साधनहरूले बाढीको त्रास देखाउँदै एक सय रूपैयाँसम्म लिँदै आएको सुन्न पाइन्छ । बाढीमा चलाउने सवारीसाधनका चालकहरूले सकिनसकी चलाइरहेका हुन्छन् भने गाडिमा सवार यात्रुहरूको मुटुले ठाउँ छोडिसकेको हुन्छ । लमही तुलसीपुर सडकखण्डमा रहेका १० वटा खोलाहरू मध्ये ६ वटा खोलाहरूमा बन्दै गरेका पुल हेरेर यात्रुहरू निर्माण कम्पनीहरूलाई गाली गरिरहेका हुन्छन् ।
विगत ४ वर्ष पहिले ठेक्का भएका पुलहरू अहिलेसम्म बन्न सकेका छैनन् भने भएको कचवे पनि निर्माण कम्पनीले भत्काउँदा यात्रुहरूले सास्ती खेप्नु परिरहेको छ । २०७१ भदौ ११ गते सम्झौता भएको कटुवा खोलाको पुल ५ वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले अहिलेसम्म सम्पन्न गर्न सकेको छैन । २०७४ असोज १० गते सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीले उक्त पुल ४ करोड १० लाख रूपैयाँमा ठेक्का लिएको थियो । पुल बनाउँदा पहिले भएको कचवे भत्काउँदा अहिले यातायात आवागमन बन्द प्राय छ । ४ महिना पहिलेदेखि अहिलेसम्म निर्माण कम्पनीले कटुवाखोलाको पुल ढलान गर्ने तयारी गरिरहेको छ । त्यस्तै सोही कम्पनीले ठेक्कामा लिएको घोराही तुलसीपुर सडकखण्डमा पर्ने पत्रे खोलाको पुलको अवस्था पनि त्यस्तै छ । उक्त पुल पनि २०७१ साल भदौ ११ गते नै सम्झौता भएको थियो भने २०७५ भदौ ९ गते सम्पन्न गर्ने मिति राखीएको थियो । ५ करोडको लागतमा बन्न लागेको पत्रे खोलाको पुलमा पिलर पनि आधा मात्रै बनाईएको छ । पहिला बनाएको पुलको डिजाईन परीर्वतन गर्नुपरेकोले समयमै सम्पन्न हुन नसकेको निर्माण पक्षले बताउदै आएको छ । २०७१ सालमा ठेक्का भएको पुलको डिजाईन आउन ५ वर्ष लागेपछि पुल कहिले बन्ने हो कसैलाई थाहा छैन ।
त्यस्तै लमही तुलसीपुर सडक खण्डका २ वटा खोलामा पुल निर्माणको ठेक्का पाएको अनक– बज्रगुरु जेभी कम्पनीको हालत पनि त्यस्तै छ । गुर्जे खोलाको पुल २०७२ माघ ५ गते र बबई नदीको पुल सोही वर्षको माघ ११ गते उक्त कम्पनीले ठेक्कामा लीएको थियो । बबई नदीको पुल २०७४ असोज १० गते सम्पन्न गर्नेगरी ११ करोड रूपैयाँमा ठेक्कामा लीएको कम्पनीले ४ वर्षमा पिलरको काम मात्रै सम्पन्न गरेको छ भने अहिले एउटा स्पेयर ढलान भएको छ । त्यस्तै गुर्जे खोलाको पुल २०७५ वैशाख १६ गते सम्पन्न गर्ने गरी ८ करोड रूपैयाँमा सम्झौता गरेको कम्पनीले एउटा स्पेयरमा ढलान गर्ने तयारी मात्र गरेको छ । त्यसैगरी २०७२ साल माघ ५ गते ८ करोड रूपैयाँको लागतमा २०७५ वैशाख ४ गते काम सम्पन्न गर्ने गरी रौताहा कन्स्ट्रक्सन कम्पनीले ठेक्कामा लीएको सक्राम खोलाको पुलको अवस्था पनि त्यस्तै छ । तर गतवर्षको अन्त्य तिरवाट कालीका कन्स्ट्रक्सन कम्पनीले सुरु गरेको गुहार खोलाको पुल भने सन्तोष जनक रूपमा काम भैरहेको छ । दाङका अन्य खोलाहरूमा बन्न लागेका पुल भन्दा गुहार खोलाको पुल समयमै सम्पन्न हुने लक्षण देखीएको छ ।
ठेक्काको अवधिभर काम नगर्ने निर्माण कम्पनीका कारण उक्त सडकखण्डमा यात्रागर्ने नागरीकले बर्षेनी दुःख खेप्दै आउनु परेको छ । निर्माण कम्पनीको लापरवाहीका कारण दाङका खोलाहरूमा पुल समयमै बन्न नसकेको भने यथार्तता हो । निमयनकारी भूमिकामा रहेको डिभिजन सडक कार्यालय निरीह बन्नुले पनि निर्माण कम्पनीहरूले लापरबाही गर्दै आएका हुन् । खोलामा भएको कचवे भत्काउँदा पनि सास्ती खेप्नु परेको सवारीचालकहरू बताउछन् ।