© २०२३
नेपालमा हिमाली, पहाडी र चुरे क्षेत्रमा पानीका धेरै मूल छन् । यहाँका एक करोडभन्दा बढी मानिस पानीका लागि तिनै मूलमा आश्रित भएको बताइन्छ । पानीका मुहान स्थानीयका लागि पानीका मुख्य स्रोत मात्र होइनन्, महाभारत र चुरे क्षेत्रका खोला तथा नदीका स्रोत पनि हुन् । नेपालका मुख्य नदीहरूलाई बाह्रैमास सदाबहार रूपमा बग्नका लागि मुहानको राम्रै योगदान छ । तर तिनै मूल सुकेर हिमाल, पहाड, चुरे क्षेत्र एवं पूरै हिन्दूकुश पर्वतमा पानीको संकट बढ्न थालेको छ । मूल सुकेका कारण स्थानीयले थातथलो छोड्न थालेका छन् । पालिकाहरूले आफ्नो क्षेत्रका कतिपय क्षेत्रका स्थानलाई सुक्खा घोषणा गरेर महँगा खानेपानी आयोजनाको खाका बनाइरहेका छन् । विगतमा अप्रचलित लिफ्ट, बोरिङ, डिप ड्रिलिङ जस्ता प्रविधि उपयोग गर्न थालिएको छ । परापूर्वकालदेखिका सार्वजनिक जग्गा, धाप, चौतारीमा सिमेन्ट–कङ्क्रिटका पक्की संरचना बनाउँदा पुनर्भरणमा कमी भएको छ भने सधैं पानी हुने सदाबहार मुहान मौसमी बन्न पुगेका छन् । यसरी खानेपानी आयोजनाले अन्य क्षेत्रमा हुने लगानीलाई सीमित पारिदिएको छ । चिन्ताको अर्को कुरा के छ भने खानेपानी आपूर्तिका लागि ‘अपरिहार्य विकल्प’ का रूपमा सञ्चालित त्यस्ता आयोजनामा प्रयुक्त प्रविधि मूल सुकाउने मुख्य कारक पनि बन्न थालेका छन् ।
नेपालका हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन्। यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन्। चार महीना भारी वर्षा हुने र बाँकी आठ महीना सुक्खा हुने नेपालमा बाह्रै महीना पानी उपलब्ध गराउन र खोलामा बगिरहने पानीको मात्रा कायम गर्न पनि मुहानको पानी अत्यावश्यक छ । पहाडी भेगको भौगोलिक विकटता र बस्ती माथिल्लो भागमा र खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन। लिफ्ट सिस्टम जस्ता प्रविधिको प्रयोग सहज छैन । एक त सो प्रविधि महँगो छ, अर्को त्यसको सञ्चालनको पनि झन्झट छ। त्यसैले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प हो । अध्ययनहरूका अनुसार, धेरैजसो मुहान सुक्नुका पछाडि विकासका नाममा निर्माण गरिने भौतिक संरचना– सडक, भवन, विमानस्थल, खेल मैदान, विद्युत् उत्पादन तथा प्रसारण आदि जिम्मेवार भएकाले विकासलाई ‘कुविकास’ मा परिणत हुन नदिनका लागि वातावरणमैत्री र दिगो बनाउन जरुरी छ। त्यसका लागि स्थानीय सरकार तहमै वातावरणमैत्री भौतिक विकास निर्देशिका बनाएर कार्यान्वयन गर्न सकिन्छ । खानेपानीको लागि लिफ्ट, बोरिङ, डिप ड्रिलिङ जस्ता नयाँ प्रविधि उपयोग हुन थालेका छन्, जुन महँगो र झन्झटिलो पनि छ भने यसमा गरिने लगानीले विकास संकुचित भएको छ । त्यसमाथि खानेपानीका यी प्रविधि मूल सुकाउने कारक बन्दै छन् ।
मूलाधार व्यवस्थापनको संरचनामा महिला तथा पिछडिएका वर्गको उपस्थिति निर्णायक हुनुपर्छ। किनकि, स्थानीय समुदायले नेतृत्व गरेका प्रयासले आसन्न विपद्हरूलाई रोकेका धेरै उदाहरण छन् । सामुदायिक वन त्यसमध्ये एक हो । यदि स्थानीय सरकारले अनुकूल वातावरण बनाउने हो भने उपभोक्ताहरू स्थानीय सरकारसँग सहकार्य गर्न र मूलाधार संरक्षण अभियानको नेतृत्व समेत गर्न सक्छन् । स्थानीय सरकारले मुहान संरक्षणलाई विकेन्द्रीकृत अवधारणा लिएर स्थानीय समुदाय एवं उपभोक्ता सबैको सहभागितामा अभियानका रूपमा अघि बढाउनुपर्छ तसर्थ, मुहानलाई जोगाउँदै पानीको मात्रा बढाउन र मुहान बचाउन पानीका मुहान तथा मूलाधार संरक्षण सम्बन्धी प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता छ । मुहानका फाइदा/बेफाइदा स्थानीय बासिन्दाले लिने भएकाले समुदायको नेतृत्वमा मुहान संरक्षण र पुनर्भरणका काम हुनु जरुरी छ । त्यसमा स्थानीयको सहभागिता र नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका पक्षलाई विशेष ध्यान दिनुपर्छ । यसतर्फ ध्यान पुर्याइ नीति बनाइ नीति कार्यान्वयनमा थिती बसाल्नुतर्फ सरकार अगाडी बढोस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी