© २०२३
गुल्मी, ०८ असोज ।
गुल्मीको सदरमुकाम तम्घासमा नेवारी संस्कृति र परम्परा अनुसार नचाईने ऐतिहासिक भैरव नाचको प्रदर्शन गरिएको छ । अर्घाखाँचीको ऐतिहासिक, धार्मिक एवं पौराणिक साँस्कृतिक महत्व बोेकेको नेवाः समुदायले नाच्ने उक्त नाँच झण्डै ४० वर्षपछि गुल्मीमा प्रदर्शन गरिएको हो ।
वर्षायाम सकिएर हिउँदको समय शुरु भैसकेपछि सहकालका देवता ईन्द्रको प्रतिक स्वरूप काल भैरवको रूपमा भैरव जात्रा निकाल्ने प्रचलन छ ।
भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने एक प्रकारको नाच हो । यो नाच गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान लगायतका ठाउँहरूमा नाच्ने गरिन्छ । लाखे नाँचमा एउटा मात्र मुकुट लगाएर नाच्ने परम्परा छ भने भैरव नाच भने तिन वटा मुकुट लगाएर नाच्ने गरिन्छ । यी तिनवटा मुकुटहरू मध्ये कालो शिवजीको, रातो देवीको र सेतो गणेशको प्रतिकका रूपमा मानिन्छ । नेवारी संस्कृति र सभ्यतासँगै समुदाय र जिल्ला जिल्लामा एक आपसमा पारस्पारिक सम्बन्धको विकास गर्नको लागि लामो समयको अन्तरालपछि गुल्मीमा भैरव नाच प्रदर्शन गरिएको स्थानीय समाजसेवी एवं युवा व्यवसायी हरिकुमार श्रेष्ठले बताए ।
कालो भैरव, रातो भैरव, सेतो भैरव, डङ्किनी गर सात तालमा उक्त भैरव नचाईने गरिन्छ । जसमा मयुर नाच, घोडा नाच, दट्ठी नाच, लाहुरेलाहुरिनी नाचगरि विभिन्न प्रकारका नाचहरू देखाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । तम्घास लोखे समितिको आयोजना र नेवाःखल गुल्मी तथा रेसुङ्गा नगरपालिकाको सहयोगमा सदरमुकाम तम्घास स्तथीत चिदिचौरमा प्रदर्शन गरिएको उक्त नाच हेर्नका लागि दर्शकहरूको ठूलो भिड लागेको थियो ।
विशेष प्रकारको ठूलो मुकुट लगाएर चोरी गाईको छालाबाट बनेको मादल बजाउँदै चार करिब घण्टासम्म सात तालसँगै उक्त नाच प्रस्तुत गरिएको थियो । देशको मौलिक संस्कृति र परम्परालाई जोगाउँदै पुस्ता हस्तान्तणका लागि पनि यस्ता प्रकारका संस्कृतिहरूको संरक्षण र संबद्र्धन गर्नु पर्ने भैरव नाच संरक्षण समितिका अगुवा हरिकुमार श्रेष्ठले बताए । धार्मिक आस्थासँगै निकै लोकप्रिय मानिले यो नाच पछिल्लो समयमा नयाँ पुस्ताहरूमा खासै उत्साह र चासो नहुँदा विस्तारै लोपहुँदै जाने अवस्थामा रहेकोे छ ।