© २०२३
पछिल्लो समय कोदो खेतीमा गिरावट आएको देखिएको छ । सल्यानको कुरा गर्ने हो भने किसानहरू अहिले कोदो जस्ता परम्परागत बालीको खेतीमा चासो घटाउँदै गएका छन् । जिल्लाको केही क्षेत्रमा कोदो खेती अझै पनि केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा पनि उत्पादनमा कमी आएको देखिन्छ । कम पानी र कम लगानीमा नै कोदो फस्टाउन सक्ने भएकाले उच्च पहाडी र ग्रामीण क्षेत्रमा यो बालीले निकै फाइदा पुर्याउन सक्छ । यसको खेती उब्जनी कमजोर माटोमा पनि सम्भव हुने भएकाले किसानहरूले सजिलै उत्पादन गर्न सक्छन् । तर यो वालीमा किसानको चासो कम छ । तर स्वास्थ्यमा कोदोको फाइदाका कारण बिस्तारै यसको माग पनि बिस्तारै बढ्दैछ । यद्यपि कोदो खेतीलाई प्रोत्साहन दिनका लागि सरकारी तवरबाट प्याकेजिङ र बजारीकरणमा जोड हुन सकिरहेको छैन । कोदोको महत्वको विषयमा प्रचार प्रसार हुन सकिरहेको छैन् । कोदोको खेती, माग र फाइदालाई जोडन सक्ने हो भने यसको उत्पादन बढाउन सकिने सम्भावना छ ।
किसानहरूले कोदो उत्पादनलाई निरन्तरता दिन सकेमा यसले पोषण र आर्थिक फाइदा दुवै पुर्याउन सक्छ । कतिपय स्थानीय तहले चासो दिदा कोदोको परिकार विद्यालयको दिवा खाजामा प्रयोग भइरहेको छ । उदाहरणका लाग बाजुराको बडीमालिका नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालिएको छ । सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवा खाजामा समावेश गरिएको छ । बालविकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दैनिक दिवा खाजा खाइरहेका छन् । बालबालिकाको स्वास्थ्य र विद्यालय उपस्थिती बढाउने उद्देश्यले सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा संचालन गर्दै आएको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका विद्यालयले पनि विद्यार्थीलाई दिवा खाजामा स्थानीय रूपमै उत्पादित बालीको परिकार खुवाइरहेका छन् । गाउँपालिकाले दिवा खाजामा साताको एक दिन रैथानले बालीबाट बन्ने खाजा खुवाउने निर्णय गरेसँग विद्यालयले साताको बिहीबार अनिवार्य रूपमा स्थानीय बालीको परिकारको व्यवस्था गर्ने गरेका छन् । दिवा खाजाका लागि कोदो, मकै र फापर, सिमी, बोडी, मस्याङ लगायत खाद्यान्न प्रयोग गर्ने गरिएको छ । स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति अनुसार स्थानीय रूपमा उत्पादित बालीको खपतका लागि उक्त कदम चालिएको हो ।
गाउँपालिकाले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मको संघीय सरकारबाट सशर्त अनुदानको रूपमा ९८ लाख ५२ हजार प्राप्त भएको र पालिकाको आन्तरिक स्रोतबाट कक्षा ६ दखि १२ सम्मको लागि ५८ लाख ४४ हजार बजेट विनियोजन गरि प्रवर्धन गरिरहेको छ । शैक्षिक शत्र २०७६ बाट बालविकास कक्षादेखि ५ सम्म आन्तरिक स्रोतबाट १ करोडसम्म बजेट विनियोजन गरी दिवा खाजा व्यवस्थान गरेको छ । संघीय सरकारले दिवा खाजाको अनुदान दिन शुरु गरेपछि पालिकाले कक्षा ६ देखि १२ सम्म दिवा खाजा व्यवस्थापन गर्दै आएको छ । मकवानपुरगढी पालिकाले कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । कोदोको प्रति किलो ४५ रूपैयाँ र फापरको प्रति किलो ८० रूपैयाँ मूल्य तोकिएको छ । समर्थन मूल्य तोकिएपछि व्यवसायीहरूले किसानसँग उक्त मूल्यभन्दा कममा कृषि उपज खरीद गर्न पाउँदैनन् । बाजुराको बडीमालिका नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रोत्साहनका लागि अपनाएका नीति अरू पालिकाले पनि गर्न सक्छन् । यसले रैथाने बालीको संरक्षण त हुन्छ नै गाउँमा उत्पादनमा देखिएको परनिर्भरता कम हुन सक्छ ।