Butwal Today

नेपाल सर्प महोत्सव तथा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवस

महोत्सवमा सर्पका प्रजातीबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिईनेछ ।
३० भाद्र २०८१, आइतबार
अ+
अ-

बुटवल, ३० भदौ । ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित रुपन्देहीमा दोस्रो नेपाल सर्प महोत्सव तथा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवस हुने भएको छ । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा अन्तराष्ट्रिय सर्पदंश दिवस पारेर यसपटक असोज असोज १ र २ गते रुपन्देहीमा वृहत सचेतनामुलक कार्यक्रम गर्न लागेको आईतबार पत्रकार सम्मेलन गरि महोत्सवका संयोजक तथा सर्पविशेषज्ञ कमल देवकोटाले बताए । पहिलो संस्करण जुलाई १६ अर्थात विश्व सर्प दिवसमा कावासोतीमा गरिएको भन्दै उनले सात प्रदेशकै सर्पको जोखिम रहेको जिल्लाहरुमा कार्यक्रम गर्ने लक्ष्य रहेको बताए । नेपालमा ८४ प्रजातीका सर्पहरु भेटिएका छन जसको केवल २० प्रतिशतमात्र विषालु सर्प छन । अन्य बन्यजन्तुहरुको तुलनामा सर्पदंशकै कारण मानव मृत्यु धेरै भएपनि सचेतनाका कार्यक्रम भने थोरै हुने गरेको दाबी गर्दै उनले अन्तरास्ट्रिय स्तरमा दाताको कमी औल्याए । विगत एक दशकदेखि केही अभिन्ताहरुको साथमा उद्घार, सचेतना र जागरणको अभियान चलाउदा धेरै सिकाई भएको उनले बताए । ‘समाजमा सर्पबारे धेरै गलत धारणा छन ।’— उनले भने ।

एक तथ्याकले नेपालमा २०२२ मा ४० हजार जनालाई सर्पले टोकेको र ३ हजारको मृत्यु भएको तथ्याक अनुसन्धानमा देखिएको छ । सर्पको टोकाई र विषभन्दा पनि टोकेपछि गरिने घरायसी उपचारको क्रममा केही गलत क्रियाकलापका कारण मृत्यु हुने गरेको उनको तर्क छ । ‘हामीले महोत्सवमा सर्पका प्रजातीबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिने छौ ।’—उनले भने । करेत सर्प साईलेन्स किलरको रुपमा चिनिन्छ । रातीको समयमा क्रियाशिल हुन्छ । लक्षण ढिला देखिने हुदा उपचारमा कठिनाई हुन्छ । रसेल भाईपरबारे जानकारी दिने समेत उनले बताए । गतवर्ष गरिएको कार्यक्रमबाट सिकाइको रुपमा थारुहरुको सास्कृतिक नाचमा बन्यजन्तुहरुलाई लखेट्न लाठीका विभिन्न हाउभाउबाट नृत्य गरिने कुरा ज्ञान भएको उनले बताए । गतवर्ष ४ हजार विद्यालयका विद्यार्थीसहित ५ हजार जनाले अवलोकन गरेको उनले बताए ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढि सर्पका बारेमा चिकित्सकहरुलाई तालिम दिएको प्रदेश पर्दछ । तर पनि उपचारको क्रममा विशेषज्ञ चिकित्सकहरु उपलब्ध नहुने समस्याका कारण धेरै घटनाहरु हुने उनले बतए । नेपालमा एक दर्जनभन्दा बढि विज्ञ चिकित्सक नरहेको हुदा पनि देशभर सेवा दिन सक्ने अवस्था नरहेको उनले बताए । ‘अस्पतालहरुमा तालिम प्राप्त विशेषज्ञ नहुदा पनि उपचारमा समस्या रहेको छ ।’—उनले भने । सर्पमा पनि पछिल्लोसमय राजगोमन बचाउने अभियानलाई बढी जोड दिएको उनले बताए ।

कार्यक्रममा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बन्यजन्तुको संरक्षणमा आफुहरु स्वतस्र्फुत खटिएको बताए । विभिन्न स्थानबाट बन्यजन्तुहरु उद्धार गरि केन्द्रमा ल्याईदिने र त्यसको संरक्षण केन्द्रबाट गरिरहेको भएपनि कानुनी जटिलता आएको उनले बताए । यसको जिम्मेवार निकाय डिभिजन बन कार्यालय मुख्य हो तर श्रोत साधनको अभावमा भेटिएको बन्यजन्तुहरु यहा ल्याउने गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले विगत लामोसमयदेखी घाईते बन्यजन्तुको संरक्षणमा रहदा धेरै सिकाई भएको भन्दै पछिल्लोसमय सर्प उद्धारका लागि धेरै फोनहरु आउने गरेको बताए । सर्पलाई बचाउनुपर्छ भन्ने धेरैसम्म सन्देश दिन सफल भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?